You are here
Home > समाचार > विस्तृत शान्ति संझौता भएको १२ वर्ष पूरा

विस्तृत शान्ति संझौता भएको १२ वर्ष पूरा

५ मंसिर २०७५, बुधबार १५:४३

काठमाडौं-तत्कालीन नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता सम्पन्न भएको १२ वर्ष पुगेको छ । तर, शान्ति प्रक्रियाको यो बाह्र वर्ष थुप्रै राजनीतिक परिवर्तन भएपनि द्वन्द्वपीडितको अवस्था भने उस्तै छ । न्यायको खोजीमा भौतारिनेहरुको माग पूरा हुन सकेको छैन ।

दश वर्षे सशस्त्र युद्धका क्रममा १७ हजारले ज्यान गुमाए । हजारौ नागरिक घाइते भए । तत्कालीन युद्धरत पक्ष माओवादीबाट १ हजार १ सय ३३ जना र सरकारपक्षबाट १ हजार ३ सय २४ जना बेपत्ता पारिएका छन् । बेपत्ताका परिवारलाई शान्ति सम्झौता र अन्तराष्ट्रिय कानून अनुसार न्याय दिलाउने प्रकृतिको कानून बनाउने प्रतिबद्धता पनि हरेक सरकारले जनाउँदै आएको छ ।

वर्तमान सरकारले संक्रमणकालीन न्याय अन्त्यका लागि सरकार छुट्टै अदालत स्थापना गर्न उचित मानेको छ । तर, मुलुकमा आमुल परिर्वतनका लागि दश वर्षे सशस्त्र युद्धमा होमीएका दुवै पक्षका योद्धाहरुको योगदानलाई वर्तमान सरकारले अवमूल्यन गरेको मानवअधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

जसरी मुलुकबाट राजतन्त्र हटाउँदै संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना, संविधानसभाबाट संविधान जारी गर्न सबै राजनीतिक दल एकजुट भयौं यसैगरी संक्रमणकालीन न्यायलाई पनि अन्तिम निकर्षमा पुर्याउन एक हुनु पर्ने कांग्रेस नेता रमेश लेखकको भनाई छ । नेता लेखकले द्वन्द्वपीडित र वेपत्ताहरुलाई संक्रमणकालीन न्याय दिलाउन नेपाली कांग्रेस जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए ।

शान्ति सम्झौतापछि मुलुकमा परिर्वतन आएको तर, द्वन्द्वपीडिलाई उचित सम्बेधन नभएको पीडितहरुको आरोप छ । आफ्ना परिवारको सदस्यको रगतले वर्तमान संविधान लेखिएको भएपनि त्यसको अंशियार बन्न नसकेको द्वन्द्वपीडित देवी सुनुवारको भनाई छ । सुनुवारले द्वन्द्वपीडितलाई उचित सम्बोधन नभएसम्म मुलुकबाट द्वन्द्व समाप्त नहनुने बताए ।

अनि, संक्रमणकालीन न्यायलाई अबपनि उचित सम्बोधन नगरिए अन्तरराष्ट्रिय स्तरमा न्यायको खोजीमा निस्कने पीडितहरुले चेतावनी पनि दिदै आएका छन् ।

  • 6
    Shares