You are here
Home > समाचार > सुडानमा सशस्त्र प्रहरीका एसपीको कमाण्डमा १२० फौज तैनाथ हुँदै

सुडानमा सशस्त्र प्रहरीका एसपीको कमाण्डमा १२० फौज तैनाथ हुँदै

७ मंसिर २०७५, शुक्रबार ०७:०३

काठमाडौं-संयुक्त राष्ट्रसंघले सुडान र दक्षिण सुडानबीचको अवेइमा सशस्त्र प्रहरी बल (एपीएफ)को मिसन तैनाथ गर्ने भएको छ। प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा राष्ट्रसंघले सुडान र दक्षिण सुडानको बीचमा रहेको अबेइस्थित ‘युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (युनिस्फा) मिसन अन्तर्गत सशस्त्र प्रहरीका १ सय २० अधिकृत तथा जवान सम्मिलित फौज तैनाथ गर्न लागेको हो।

यसका लागि आवश्यक तयारी गर्न राष्ट्रसंघबाट कुरा आएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ । अबेइमा तैनाथ भएसँगै सशस्त्र प्रहरीको फम्र्ड पुलिस युनिट (एफपीयु) मिसनको संख्या ३ पुग्नेछ । अहिले सुडानमा जुवामा १ सय ६० र बोरमा १ सय २० सशस्त्र प्रहरी तैनाथ छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरज श्रेष्ठले एसपीको कमाण्डमा १ सय २० जनाको फौज मिसनमा पठाउनेबारे राष्ट्रसंघबाट स्वीकृति पाइसकेको जानकारी दिए। “सुडान र दक्षिण सुडानको बोर्डरलाइन तैनाथ युनिस्फा मिसन अन्तर्गत खटाउन सकिनेबारे राष्ट्रसंघसँग अनौपचारिक कुराकानी र छलफल भएको हो,” प्रवक्ता श्रेष्ठले भने, “यद्यपी कुन मिसनमा तैनाथ गर्नेभन्नेबारे निर्णय भइसकेको छैन ।”

तत्कालिन आईजीपी दुर्जकुमार राईकै पालामा अढाई वर्ष अघि राष्ट्र संघले माली मिसनका लागि सशस्त्र प्रहरीका १ सय ८० अधिकृत तथा जवानलाई तैनाथ गराउन स्वीकृति दिएको थियो । तर मिसन जाने अन्तिम अवस्थामा समेत बख्तरबन्द गाडी सहितका उपकरण उपलब्ध गराउन नसकेपछि सशस्त्र प्रहरी मालीस्थित शान्ति मिसनमा सहभागी हुनबाट बञ्चित भएको थियो।

  • 4.8K
    Shares