You are here
७ मंसिर २०७५, शुक्रबार १४:२४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो ।

‘खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मूलधारमा समाहित गर्न उच्च प्राथमिकता दिइने छ । पार्टी एकताको ढोका सदैव खुला रहने छ’ बैठकपछि राप्रपाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले संगठन निर्माण तथा सुदृढिकरमा केन्द्रित हुने निर्णय पनि गरेको छ । पुस मसान्तभित्र देशभरका ७५३ वटै गाउँपालिका र नगरपालिकाको वडाहरुमा पार्टी ईकाई समितिको गठन एवं पुनर्गठन गर्ने निर्णय पनि गरेको वैठकपछि महामन्त्री भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७६ जेठ महिनामा ७ वटै प्रदेशको अधिवेशन र प्रदेश कार्यसमितिको गठन तथा पुस मसान्तभित्र ५० हजार थप सक्रिय सदस्यहरु बनाउने गरी सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

राप्रपाले आगामी माघ १५ देखि २५ सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिने गर्ने निर्णय पनि गरेको छ ।

राप्रपाले देशमा दुई तिहाई बहुमतको सरकार भएको जनताले अनुभूति गर्न नपाएको पनि बताएको छ । ‘संविधान बमोजिम चुनाव सम्पन्न भई दुई तिहाई बहुमतका साथ सरकार गठन भएको ९ महिना भएको छ, तर जनताले राहत र परिवर्तनको अनुभूति गर्न पाएका छैनन्’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

  • 1
    Share