You are here
Home > समाचार > प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

८ मंसिर २०७५, शनिबार १३:१२

काठमाडौँ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन(इन्टरपोल)को ८७ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता भएका छन्। महानिरीक्षक खनाल मङ्सिर २ गतेदेखि ५ गतेसम्म युनाइटेड अरब इमिरेटस (दुबई) मा भएको इन्टरपोलको ८७ औँ महासभामा भाग लिएर आज बिहान १०.१५ बजे स्वदेश फकिएका हुन्।

विश्वका १९२ देशका प्रतिनिधि सहभागी उक्त महासभामा अन्तरदेशीय अपराध चेलिबेटी बेचबिखन, अवैध हातहतियारको कारोवार र रोकथामको विषयमा छलफल भएको थियो । साथै, उक्त महासभामा सदस्य राष्ट्रका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन समेत भएको थियो ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी लेखापरीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेट सम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइवर अपराध, मानव बेचबिखनजस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत तथा पारित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महासभामा भाग लिन महानिरीक्षक खनाल कात्तिक ३० गते राति दुबई प्रस्थान गरेका थियो । महानिरीक्षक खनालसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशी समेत दुबई गएका थिए।

  • 8
    Shares