You are here
Home > समाचार > प्यासिफिक समिट–२०१८ का लागि चारै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन

प्यासिफिक समिट–२०१८ का लागि चारै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन

१३ मंसिर २०७५, बिहीबार १२:४३

काठमाडौं-मंसिर १४–१६ गते आयोजना हुने एसिया प्यासिफिक समिट–२०१८ का लागि चारै सुरक्षा निकाय परिचालन गरिने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सहसचिव) रामप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले समिट अवधिभर काठमाडौँ उपत्यकामा एकिकृत सुरक्षा योजना लागू गर्ने निर्णय गरेको हो।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सेनाका गणपतिहरु, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने प्रमुखहरु सहभागी बैठकले एकिकृत सुरक्षा योजना बनाएको छ।

सरकारले एकिकृत सुरक्षा योजना अन्तर्गत सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालनको निर्णय गरेको हो। कार्यक्रममा सहभागी हुन आउने म्यानमारकी स्टेट काउन्सिलर सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको भ्रमण औपचारिक भएकालेसमेत समिटका लागिसरकारले बिशेष सुरक्षामा चासो राखेको हो।

एकिकृत सुरक्षा योजना अन्तर्गत १३–१७ मंसिरका लागि चारै सुरक्षा निकायका गरी ८० हजार सुरक्षाकर्मी परिचालन हुने अनुमान गरिएको छ। जसमा नेपाल प्रहरीले एकदिनमा मात्रै ५ हजार १ सय प्रहरी परिचालन गर्नेछ।

सुरक्षा योजना अनुसार औपचारिक भ्रमणमा रहने बिशिष्ठ पाहुनाहरुका लागि बिशेष कारगेट चलाइने छ। यस्तै अन्य पाहुनाका हकमा बिशिष्ठ ब्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधी २०७० अनुसारको सुरक्षा प्रवन्ध गरिएको छ।

सुरक्षाकर्मी परिचालनको एकिकृत योजना अनुसार चार तहमा सुरक्षा घेरा बनाएर कार्यक्रमस्थल, निवास र बाटोघाटोको सुरक्षा प्रदान गरिनेछ। कार्यविधि अनुसार राष्ट्रप्रमुख, कार्यकारी प्रमुख र उप प्रमुखका हकमा ब्यक्तिगत सुरक्षाका लागि सेनाको सुरक्षा दिइनेछ भने अन्यका हकमा प्रहरीको सुरक्षा सेवा निर्देशनालयका कमाण्डो खटिनेछन्।

त्यस्तै, कार्यक्रम स्थल र निवासमा सेनाको बम डिस्पोजल टोलीको एउटा टोली चौबिसै घण्टा तैनाथ हुनेछ। अग्ला भवनहरुमा सेना र प्रहरी तथा पुल–पुलेसाको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिने छन्।

कार्यक्रम अवधिभरका लागि सेना र सशस्त्रको पैदल तथा सवारीसाधनमा गस्ती गर्नेछन्।

  • 31
    Shares