You are here
Home > समाचार > विमानस्थल सुरक्षा पुनः ‘मेट्रो’लाई फिर्ता

विमानस्थल सुरक्षा पुनः ‘मेट्रो’लाई फिर्ता

१७ मंसिर २०७५, सोमबार १३:१४

 काठमाडौं –अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी प्रधान कार्यालय मातहत ल्याएको एकमहिना नपुग्दै महानगरीय प्रहरी कार्यालयलाई फिर्ता गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयमा पुनः महानगरीय प्रहरी कार्यालयमा फिर्ता गराइएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयका एसएसपी उत्तमराज सुवेदीको हस्ताक्षरमा १४ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रहरी प्रधान कार्यालय मातहत रहने पत्र पठाइएको छ । एसएसपी सुवेदीको हस्ताक्षर रहेको चलानी नम्बर १४२९ को पत्रमा २७ जेठको मन्त्रिपरिषद् र ३१ जेठको मन्त्रीस्तरीय निर्णय भन्दै विमानस्थल सुरक्षा कार्यालयले प्रहरी प्रधान कार्यालय अनुसन्धान तथा कार्य विभागमा दैनिक जाहेरी गर्न उल्लेख गरिएको छ ।

तर, त्यसको एक महिनापछि महानिरीक्षक सचिवालयको मातहतमै रहेको अन्वेषण योजना निर्देशनालयका डिआइजी विनोद शर्मा घिमिरेले ११ मंसिरमा पत्र लेख्दै विमानस्थल सुरक्षा महानगरीय प्रहरी मातहत रहने आवश्यक कार्यार्थ जानकारी पत्र पठाएका छन् ।

अन्वेषण योजना निर्देशनालयको चलानी नम्बर २९५ रहेको पत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को २७ जेठमा स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–०७५ अनुसार भएको निर्णय र २ साउनमा महानिरीक्षक सचिवालयको पत्र भन्दै प्रहरी महानिरीक्षक सचिवालय, अपराध अनुसन्धान तथा कार्य विभाग, प्रशासन तथा मानव स्रोत विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, अस्पताल र सातवटै प्रदेश प्रहरीको कार्य बाँडफाँड उल्लेख गरिएको छ ।

यसअघि पठाएको पत्रमा पनि सबै व्यहोरा लगभग एकै रहे पनि विमानस्थल सुरक्षा अपराध अनुसन्धान तथा कार्य विभागबाट महानगरीय प्रहरी कार्यालय लगिएको हो ।विमानस्थलको सुरक्षा प्रमुख नायब महानिरीक्षक (डिआइजी) रहने व्यवस्था छ ।

  • 3
    Shares