You are here
Home > समाचार > लेडी डनको ‘पिरती’ चर्चा

लेडी डनको ‘पिरती’ चर्चा

१८ मंसिर २०७५, मंगलवार १०:३१

काठमाडौं -हिरासतमा रहेकी एक जना लेडी डनको आपराधिक पिरतीको गाथाको चर्चा अहिले प्रहरी वृत्तमा हुन थालेको छ । उनलाई अनुसन्धान गर्ने समय अझै एक महिना भन्दा बढी छ । तर, उनीविरुद्ध आएका बयान र उनको हर्कतले प्रहरीमा उनको पिरतीको चर्चा छ । ति लेडी डन हुन् थुनामा रहेका गुन्डानाइके समिरमान बस्नेत पत्नी माया शेरचन बस्नेत ।

पतिसँग उनको पिरती यति नजिक रहेछ की हरेक आपराधिक काममा हतियारको व्यवस्थापनको जिम्मा लिएकी रहिछन् । अहिले पनि प्रहरी अधिकारीलाई उनले केही पनि गर्न नसक्ने आक्रोशपूर्ण बयान दिने गरेकी रहिछन् । स्रोतले भन्यो,‘पतिको माया त राम्रो काममा हुनुपर्ने, आपराधिक कामबाट दिक्क हुनुपर्ने उनी त मायाप्रेममा अपराध गर्न नै उद्दत रहिछन् ।’

पति समिरमान बस्नेतलाई नख्खु कारागारबाट मुस्ताङ सारेपछि इन्काउन्टर हुने डरले माया उजुरी बोकेर सर्वोच्च अदालत पुगेकी थिइन् । उनको उजुरीमा सर्वोच्चले समिरमानलाई तीन दिनमा उपस्थित गराउन आदेश गरेको थियो । त्यो घटना पनि समिरमानको योजनालाई सहयोग गर्नका लागि नै मायाको चाल रहेको बताइन थालेको छ ।

यसको रहस्योद्घाटनको घटना एक ठूला मिडिया व्यावसायीको हत्यायोजनासँग सम्बन्धित रहेको  थियो । समिरमानका सुटरले महानगरीय अपराध महाशाखालाई निर्माण व्यावसायी शरद गौचन हत्यादेखि अन्य काममा मायाले हतियार व्यवस्थापनको बयान दिएपछि मायाको अपराध पिरतीको रहस्य खुलेको थियो । अनि, उनलाई पक्राउ गरिएको थियो । वाफलका गुन्डा नाइके समिरमान इन्काउन्टरमा मारिएका मनोज पुनका अनेक आपराधिक कर्मसँग जोडिएका साक्षी हुन्, उनको अपराधको साक्षीचाहीँ माया रहिछन् । प्रहरी स्रोतले भन्यो,‘यो सामान्य महिला होइन । उसमा कुनै हिनताबोध पनि देखिएन ।’

प्रहरीले गौचन हत्याका ‘सार्पसुटर’ अम्बरबहादुर रानालाई पक्राउ गर्नासाथ मायाको संलग्नता फेला परेको थियो । रानालगायतको बयानले हतियार व्यवस्थापनको जिम्मा मायाले लिएको बयान दिए । जुन रेकर्डेड छ । त्यतिमात्र होइन गुन्डा नाइके दावा लामामाथि गोली प्रहार हुँदा पनि मायाले नै हतियार व्यवस्थापन गरेको बयान प्रहरीसँग छ ।

४ पुस २०७३ मा रुपन्देही देवदहका एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या हाल पक्राउ परेका लोप्साङ लामाले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्कालीन समयमा पनि समिरमानकी पत्नी मायाले नै लोप्साङलाई हतियार व्यवस्थापन गरेको अभियोग छ ।

काठमाडौंमै रहेका बेला रोशन बुढाथोकी, राना, श्याम गुम्बी र अजय थापालाई समिरमानको बाफलस्थित घरमा मायाले शरण दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महाशाखाका अनुसार भारतमा रहेका बेला समिरमान र उनको समूहलाई मायाले विद्यार्थीमार्फत पैसा पठाउने गरेकी थिइन् ।

‘अपराध गर्न सहयोग गर्ने, भागेका बेला रकम पठाउनेलगायतका अनेक प्रकरणमा उनको संलग्नता पुष्टि भइसकेको छ । अब, उनले स्वीकार गर्न मात्र बाँकी हो । हामी त्यसैलाई नतिजा दिएर मुद्दा लगाउने प्रयासमा छौं’, प्रहरी स्रोतले भन्यो । – जनप्रहार

  • 10
    Shares