You are here
Home > प्रशासन > कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध अख्तियारद्धारा मुद्धा दायर गर्ने तयारी

कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध अख्तियारद्धारा मुद्धा दायर गर्ने तयारी

२१ मंसिर २०७५, शुक्रबार ०८:५१

काठमाडौं- गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिई कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।

अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिई कालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने भएको छ ।

सिक्टा सिँचाइ आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षणकै क्रममा भत्किएको थियो । नहरको करिब ३५ किमि कामै नलाग्ने गरी भत्किएको थियो ।

नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा अख्तियारले छानबिन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरूको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।

अख्तियारले सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना निर्देशक सरोजचन्द्र पण्डितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुर गरेको ठहर गर्दै ५९ करोड ३४ लाख ५२ हजार बिगो मागदाबीसहित मुद्दा दायर गर्ने तयारी छ ।

  • 2
    Shares