You are here
Home > प्रशासन > ज्यादै संवेदनशील अपराधिक घटना र त्यसको अनुसन्धान

ज्यादै संवेदनशील अपराधिक घटना र त्यसको अनुसन्धान

२१ मंसिर २०७५, शुक्रबार ०९:४८

रविन्द्र प्रताप शाह

कुरो २०६९ जेष्ठ १८ गतेको हो, कुनै मिटिंङमा भागलिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिए, फोनको घण्टी बज्यो , फोनको त्यो घण्टीले कुपनडोलस्थित युएन पार्कमा भर्खरै सर्वोच्चका वहालवाला न्यायाधीश रणवहादुर वमलाई गोली हानिएको जानकारी गरायो, त्यति हाई प्रोफाइलको ब्यक्तिलाई राजधानीमै दिनदहाडे गोली हानिएको अविश्वसनीय थियो, म त एकछिन अकमक्कनै परे र अरु कुरा सुन्दै नसुनि सिधै युएन पार्कतिर हानिए,

घटनास्थल पुग्दा कोही पनि भेटिएनन, सबैलाई नर्भिक अस्तापाल लगिसकिएको थियो, स्थानीय केही ब्यक्तिहरुसंग बुझ्दा बंगलामुखी माताको दर्शन गरि फर्केर कार्यालयतर्फ जाँदै गर्दा केही मोटरसाईकलमा आएका केही ब्यक्तिले न्यायाधीशलाई मात्र नभै सोही गाडीमा सवार अन्य २ \ ३ जनालाई पनि गोली हानिएको रहेछ, लक्षित न्यायाधीशनै थिए भन्नेमा कुनै शंका रहेन, अरुलाई साइलेन्ट गराउन मात्र हानिएको थियो,

त्यसपछि म सोझै नर्भिक अस्पताल पुगे,त्यहाँ तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी लगायत सर्वोच्चका प्रायः सबै जसो न्यायाधीशहरुको उपस्थिति थियो, सबैको अनुहारमा आक्रोश, डर र आश्चर्यको मिश्रित भावहरु थिए, प्रधान न्यायाधीश खिलराज रेग्मीज्यूसंग मैले “तराई र मधेश घटना छानविन आयोग”मा बसेर काम गरिसकेको कारणबाट राम्रै सम्पर्क थियो, उहाँले लाई राम्रै पुलिस अफिसर मान्नु हुन्थ्यो,

त्यस घटनामा प्राय सबै न्यायाधीशहरुले ठूलै (राजनैतिक) शक्तिकेन्द्रको हात रहेको अनुमान गर्दै नेपाल प्रहरीले अनुसंधान गर्न नसक्ने सोचाई रहेको पाए, मलाई खिलराज रेग्मीज्यूले अप्रत्यक्षमा सबै न्यायाधीशहरुको सोचाई बताउदै “ नेपाल प्रहरीलाई अनुसन्धान गर्न अप्ठेरो पर्न सक्ने भएकोले आयोगनै गठन गरि अनुसन्धान गर्दा के होला ?” भनेर सोध्नु भयो,

मैले उहाँलाई “श्रीमान, जतिसुकै ठूलो आयोग गठन गरेपनि अनुसन्धान गर्ने नेपाल प्रहरी नै हो, मलाई यो घटनामा कुनै शक्ति केन्द्रको हात छ जस्तो पनि लाग्दैन र रहेछनै भनेपनि नेपाल प्रहरी कुनै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्ने हैसियत राख्छ, हजुरहरुले अन्यथा सोच्नु पर्दैन ” भनेपछि, उहाँले फेरी सोध्नु भयो, “तपाईलाई यो घटनाको अनुसन्धान गर्न कति दिन लाग्छ ?”
मैले भने “अनुसंधानगर्न यत्तिनै समय लाग्छ भनेर किटानी त गर्न सकिदैन तर पनि मलाई १५ दिनको समय चाहिन्छ उहाँले फेरी सोध्नु भयो, “१५ दिन भित्र पत्ता लागेन भने के गर्नु हुन्छ ?” मैले पनि, “त्यो अवधी भित्र पत्ता लगाउछु, सकिन भने म आफै श्रीमान कहाँ आएर आयोग गठनगर्न सुझाब दिन्छु “ यसलाई उहाँले सकारात्मक रुपमा लिनुभयो,

म कार्यालय फर्केर म पछि हुनेवाला आइजी कुवेर सिंह राना, डिआइजी उपेन्द्र अर्याल लगायत अनुसन्धानमा राम्रा भनि चिनिएका उपत्यकामै कार्यरत प्रहरी अधिकृतहरुको टिम गठन गरेर अनुसंधान शुरु गरियो, नेपाल पोलिस्का क्षमतामा पुरा बिश्वास थियो,
खुब मिहेनत गरियो, रात रातभर काम गरियो, सम्भव भएसम्म सबै प्रविधी र श्रोत उपयोग गरियो, तर, केही सिप लागेन, १५ दिन पनि सकियो,

उहाँहरुले शक्तिकेन्द्र उपर शंका गर्नु भएकोले त्यसको निवारणको निम्ति पनि म आफै गएर प्रन्या खिलराज रेग्मीज्यूकहाँ गएर, “श्रीमानसंग मागेको समयमा मैले अनुसन्धान गर्न सकिन, आयोग गठन गर्नु भए हुन्छ।”

आयोग गठन भयो, मैले पनि ३ महिना पछि अनिवार्य अवकाश पाए, आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो तर न्यायाधीश बमज्यूको हत्याको गुत्थी सुल्झिएन, अबकाश हुंदासम्म त्यस घटनाको अनुसंधान पुरा गर्न नसकेकोमा मलाई पछि सम्म पनि खिन्न अनुभव भैरह्यो,

म पछि, कुवेर सिंह राना आइजी भएर १३ महिना बिताए, उनको पालामा पनि उक्त हत्याकाण्डको अनुसन्धान पुरा भएन, मलाई लाग्छ २ बर्षभन्दा पछि गएर मात्र नेपाल पुलिसिङे उपेन्द्र अर्याल आइजी भएको समयमा उक्त हत्याको गुत्थी सुल्झाउन सक्यो, तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु र आम जनताले सोचेको जस्तो कुनैपनि शक्तिकेन्द्रको संलग्नता भेटिएन ,
त्यसैले,

-अधिकांश चर्चित घटनाहरुमा आम मानिसको राय भन्दा अनुसंधानको निचोड बिलकुलै फरक देखिएको हुन्छ,

-कुनै पनि अपराधिक घटनाको अनुसंधान दवाव र प्रभावमा हुन सक्दैन,

-दवाव र प्रभावमा गरिने अनुसंधानले कहिलेका‘ही वास्तविक अपराधी उम्किने मात्र होईन निरपराधलाई अपराधी सावितगर्न पनि सक्छ,

-दवाव र प्रभावमा काम गर्दा अनुसंधान कचल्टिन गई निचोडमा पुग्न सोचे भन्दा ज्यादै लामो समय लाग्न सक्छ,

-कुनै पनि अपराधको अनुसन्धान गर्न यत्तिनै समय लाग्छ भन्ने निश्चित हुंदैन, त्यति मात्र होईन, कहिलेकाँही ज्यादै लामो समयसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ, दशकौ बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको संसारमा थुप्रै घटनाहरु उदाहरणको रुपमा छन,

-अहिलेको समयमा नेपाल प्रहरीले दवाव र प्रभावकै भरमा अपराधीलाई लुकाएर ब्यवसायिक छवी बिगार्दै आफैलाई सर्वत्र आलोचनाको शिकार बनाउछ भन्ने लाग्दैन,

-बहुदलीय ब्बस्थाको पुनस्थार्पनापछि कुनैपनि ठूला र चर्चित घटनाहरुको अनुसन्धानमा शक्तिकेन्द्रहरुको दवाव अक्सर आंउदैन र अपवादको रुपमा कसैले दवाव दिन खोजे पनि नेपाल प्रहरी अस्वीकार गरेको छ,

-नेपालमा अपराध अनुसन्धानको एक मात्र बिज्ञ संस्था भनेको नेपाल प्रहरी नै हो र यसको विकल्प कुनै पनि ब्यक्ति, समिति, आयोग वा अरु कुनै संस्था हुन सक्दैन,

अन्तमा,
बहुचर्चित कञ्चनपुर घटनामा पनि अनुसन्धानको सिलसिलामा खटिएका प्रहरी अधिकारीहरुको बुद्धी पुगेन होला, संवेदनशिलताको कमी पनि भयो होला, हेलचक्र्याई पनि गरेनै होलान,

तर, प्रहरी अधिकारीहरुले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतबस वा शक्तिकेन्द्रको दवावमा अनुसन्धान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै बिश्वास लाग्दैन, समय समयमा राजनैतिक दवाव नआउला भन्न सकिदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो ब्वसायिक छवी जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला,

लेखक नेपाल प्रहरीका पूर्व आइजिपी हुन्।

  • 205
    Shares