You are here
Home > समाचार > ११३९ प्रहरी चौकी सवारीसाधन विहीन, सवारी साधन नभएका चौकीमा परम्परात शैलीमा कार्य

११३९ प्रहरी चौकी सवारीसाधन विहीन, सवारी साधन नभएका चौकीमा परम्परात शैलीमा कार्य

२३ मंसिर २०७५, आईतवार ०८:४८

काठमाडौं-मुलुकका १ हजार १ सय ३९ प्रहरी चौकी सवारीसाधनबिना नै जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा रहेका छन्। सडक सुविधा पुगेका क्षेत्रमा पनि यसरी दैनिक शान्तिसुरक्षाको जिम्मेवारी पाएका प्रहरी चौकी पैदलै आफ्नो काम पूरा गर्न बाध्य छन् ।

नेपाल प्रहरीले १ हजार १ सय ३९ युनिटमा मोटरसाइकल सुविधा समेत नभएको जनाएको छ। सवारीसाधन नभएका चौकीबाट नियमित काम परम्परागत शैलीमै भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सीमित हतियार र लौरोमात्रै रहेको प्रहरी पैदल वा सार्वजनिक सवारीको भर पर्नुपर्ने अवस्था रहेको बताइन्छ ।

यही समस्याका कारण चालू आवभित्रै सवारी साधन नभएका प्रत्येक चौकीमा कम्तीमा एक–एक वटा मोटरसाकल खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले अपराधमा संलग्न व्यक्ति पक्राउ गर्न मुलुकभरका प्रत्येक प्रहरी चौकीमा कम्तिमा एउटा मोटरसाइकलसहित ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

करिब ७५ हजार जनशक्ति तैनाथ नेपाल प्रहरीका देशभर २ हजार २५ कार्यालय रहेकोमा प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हवल्दार प्रमुख रहेका चौकीको संख्या १ हजार १ सय ३९ छ । त्यस्तै ६४ सीमा चौकी तैनाथ छन् । यो संख्यामध्ये पहिलो चरणमा ३ सय ५० युनिट र चालू आर्थिक वर्षभित्रै बाँकी युनिटका लागि मोटरसाइकल खरिद गरिसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अपराधविरुद्धको अभियानअन्तर्गत प्रत्येक प्रहरी चौकीमा न्यूनतम एउटा मोटरसाइकल सहितको क्यूआरटी परिचालन गर्ने भएको हो । क्यूआरटी परिचालनका लागि आवश्यक मोटरसाइकल खरिद गर्न अर्थ मन्त्रालयले समेत बजेट व्यवस्थापन गरेको सुवेदीले बताए ।

पहिलो चरणमा अर्थ मन्त्रालयले प्रहरी चौकीका लागि ३ सय ३९ मोटरसाइकल किन्न १० करोडभन्दा बढी बजेट विनियोजन गरिसकेको छ । सबै चौकीमा मोटरसाइकल खरिद गर्दा ५० करोडभन्दा बढी बजेट आवश्यक पर्ने प्रहरीले जनाएको छ । सुवेदीले भन्छन्, “एक चौकी–एक मोटरसाइकल योजना अन्तर्गत पहिलो चरणमा ३ सय ५० चौकीमा मोटरसाइकल किन्ने तयारी छ ।”

दुर्गम क्षेत्रमा पर्याप्त साधनस्रोत र जनशक्ति नहुँदा अपराधजन्य गतिविधि नियन्त्रणमा कठिनाई रहेको प्रहरी प्रवक्ता सुवेदीले बताए ।

  • 7
    Shares