You are here
Home > प्रशासन > अख्तियारको ‘स्टिङ अपरेशन’,११ जना कर्मचारी रङ्गेहात फेला

अख्तियारको ‘स्टिङ अपरेशन’,११ जना कर्मचारी रङ्गेहात फेला

२४ मंसिर २०७५, सोमबार ०८:२५

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो ।

अख्तियार टोलीले धोबिनी गाउँपालिका पर्साका लेखापाल कृष्णानन्दन राय र नायब सुब्बा ऐनामूलक अन्सारीबाट रु एक लाख १० हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाका डिइ सुरेश ठाकुर पत्नी अनिता ठाकुरबाट रु १२ लाख ५० हजार नगद र रु २४ लाख २२ हजारको बैंक भौचरसहित रङ्गेहात फेला पारेको हो ।

मकवानपुर थाहा नगरपालिका पालुङबाट सव–इञ्जिनियर कलराज न्यौपाने रु दुई हजार, जुद्ध मावि गौरका शिक्षक प्रमोद ठाकुरबाट ४५ हजार, नापी कार्यालय गौरका धीरेन्द्रकुमार ठाकुरबाट रु १४ हजारसहित नियन्त्रणमा लिएको हो ।

विद्युत् प्राधिकरण भरतपुरका कार्यालय सहायक कृष्णबहादुर सुवेदीबाट रु २० हजार, वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृत मन्जुर आलम, नासु शशिभुषण साहबाट १ लाख, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका उपसचिव लालबाबु साहबाट रु ४० हजार र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुधामा हजारबाट रु एक लाखसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्यौट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । हेटौँडास्थित कार्यालयले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ ।

  • 5
    Shares