You are here
Home > समाचार > यि हुन मानव तस्करी गिरोहका नाइके ,रकम नदिए ज्यान मार्ने धम्की

यि हुन मानव तस्करी गिरोहका नाइके ,रकम नदिए ज्यान मार्ने धम्की

२५ मंसिर २०७५, मंगलवार ०८:३०

काठमाडौं- महानगरीय प्रहरी अपराध  महाशाखाले फरक–फरक मितिमा दुवै समूहलाई अमेरिका लैजाने प्रलोभनमा लाखौँ रुपैयाँ असुल्ने गिरोह एउटै भएको जनाएको छ ।

प्रहरीका अनुसार मुख्य योजनाकार हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम हुन् । सुदर्शनको गिरोहमा रुकुमका २१ वर्षीय विश्व बाठामगर, उनका दाइ गोकर्ण बाठामागर, पर्वतका शिव शर्मा बास्तोला र बाग्लुङका जगन्नाथ कँडेल छन् ।

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अमेरिका लैजान भन्दै लाखौँ असुलेर हाइटी लगेर अलपत्र पार्ने गिरोहका योजनाकार सुदर्शन गौतम रहेको बताए । ‘सुदर्शन गौतमले नेपाली नागरिकता त्यागेर क्यानडाको नागरिकता लिएका छन् । उनको यसअघि पनि मानव तस्करीमा संलग्नता देखिएको छ । यो घटनामा पनि उनैका संलग्नता देखिन्छ,’ एसएसपी सिंहले भने, ‘हामीले यसअघि नै गौतमविरुद्ध रेडकर्नर नोटिस जारी गर्न भनेका हौँ । तर, किन हो अझै हुन सकेको छैन । सोही कारण उनले धेरै नेपाली युवालाई पीडित बनाइरहेको देखिन्छ ।’

सुदर्शनको गिरोहका विश्व बाठामगर हाइटीमा बस्छन् । तर, उनले आफू अमेरिकामा रहेको भन्दै विभिन्न प्रलोभनमा ग्राहक संकलन गर्ने गरेको प्रहरीले जनाएको छ । उनी फेसबुकमार्फत व्यक्तिहरूको सम्पर्कमा पुग्छन् । अमेरिका आउन तयार गरेपछि काठमाडौंमा रहेका दाइ गोकर्णसँग सम्पर्क गराउँछन् ।

रकम बुझ्नेदेखि नेपालको सबै प्रक्रिया मिलाउने काम गोकर्णले गर्छन् । उनैले ग्राहकलाई भारतको दिल्लीसम्म पुर्‍याउँछन् । दिल्लीमा शिव शर्मा बास्तोलाको जिम्मा लगाउँछन् । दिल्लीबाट हाइटीसम्मको सबै प्रक्रिया मिलाउने काम शिवले गर्छन् ।

जहाजमार्फत मस्को, हवाना, पानामा हुँदै ग्राहक जब हाइटीको पोर्ट अफ प्रिन्स पुग्छन्, त्यहाँ रिसिभ गर्न जगन्नाथ कँडेल आइपुग्छन् । उनले आफू अमेरिकाबाट आएको भन्दै ग्राहकलाई भ्रममा पार्छन् । हाइटीमा उनीहरूलाई बस्ने–खानेदेखि बाँकी रकम असुल्ने काम उनैले गर्छन् । रकम नदिए ज्यान मार्ने धम्की दिन्छन् । रकम असुलिसकेपछि बेपत्ता हुन्छन् ।

महाशाखाका डिएसपी मनोहर भट्टले भने, ‘गिरोहमा विभिन्न व्यक्ति संलग्न छन् । यी सबैको भूमिका फरक–फरक छ । त्यसमध्ये रकम असुल्ने काम नेपालबाटै हुन्छ । यसमा खासगरी गोकर्ण बाठामगरको संलग्नता देखिन्छ । यी सबैका पछि भने सुदर्शन गौतम नै रहेको अनुसन्धानबाट खुल्छ ।’ नयाँ पत्रिका

  • 2
    Shares