You are here
Home > समाचार > अपराध नियन्त्रणविरुद्ध सशस्त्र र नेपाल प्रहरीसँग सहकार्य गर्न तिब्बतको प्रस्ताव

अपराध नियन्त्रणविरुद्ध सशस्त्र र नेपाल प्रहरीसँग सहकार्य गर्न तिब्बतको प्रस्ताव

२८ मंसिर २०७५, शुक्रबार १३:१३

काठमाडौं-चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले संगठित अपराधविरुद्ध दुवै मुलुकका सुरक्षा निकायबीच सहकार्य गर्न प्रस्ताव राखेको छ । तिब्बत सरकारका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङबोले आतंकवाद, लागू औषध ओसारपसार, अन्तर्देशीय अपराध लगायत संगठित तथा आर्थिक अपराध नियन्त्रण तथा क्षमता अभिवृद्धिका लागि नेपालका सुरक्षा निकायसँग सहकार्य गर्न प्रस्ताव राखेका हुन् ।

गृह मन्त्रालय अन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहकार्य गरेर अपराधविरुद्ध साझा रणनीति तय गर्नुपर्नेमा उनले जोड दिएको गृह मन्त्रीको सचिवालयले जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षामा तैनाथ नेपालको अर्ध सैनिक बल हो भने नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण लगायत कानुन कार्यान्वयन गर्ने एकमात्र सुरक्षा निकाय हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा (बादल)सँगको भेटमा होङबोले एक चीन नीति विरुद्धका गतिविधि पूर्ण रुपमा नियन्त्रण होस् भन्ने आफूहरुको चाहना रहेको पनि स्पष्ट पारे ।

“उहाँले नेपाल र तिब्बतका कानुन कार्यान्वयन गर्ने सुरक्षा निकायबीच सहकार्य गर्न प्रस्ताव राख्नु भएको छ,” गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने, “जवाफमा गृहमन्त्रीले अपराध रोकथाम तथा नियन्त्रणमा दुवै सरकारका सुरक्षा निकायबीच सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्तावमा सकारात्मक रहेको स्पष्ट पार्नु भएको छ ।” महनिर्देशक होङले एक चीन नीतिप्रति नेपालले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको भन्दै यसलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

  • 5
    Shares