You are here
Home > राजनीति > नेकपाको आगामी कार्यसूची तय

नेकपाको आगामी कार्यसूची तय

२९ मंसिर २०७५, शनिबार १८:४६

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले सांगठनिक एकीकरणलाई तत्काल टुंगोमा पुर्याउने , पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारबाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुंगोमा पु¥याउने विश्वास लिइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन ।
यस्तै जनवर्गीय एवं पेशागत संगठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन । केही दिन पहिले सचिवालयको बैठक समयमा सुरु नभएको भन्दै बैठक बहिष्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष दाहालले शनिबार छलफल गरेको बताइएको छ ।

  • 1
    Share