You are here
Home > खेलकुद > गोरखा दौडको उपाधि नेपाली सेनाका राईलाई

गोरखा दौडको उपाधि नेपाली सेनाका राईलाई

५ पुष २०७५, बिहीबार १५:०७

गोरखा-दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन्। ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जितेका हुन्।

उनले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट ४० सेकेण्डमा पूरा गर्नुभएको प्रतियोगिताका संयोजक रामहरि केसीले जानकारी दिए। प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र राजन खत्री तेस्रो हुन सफल भएका छन्। श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ५५ सेकेण्ड र खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थियो ।

त्यस्तै निर्धारित दूरी ३१ मिनेट ४७ सेकेण्डमा पार गर्दै नेपाली सेनाका हरि रिमाल चौथो र ३२ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गर्दै कल्याण बानियाँ पाँचौँ भएको संयोजक खत्रीले जानकारी दिए। प्रतियोगितामा प्रथम हुन सफल राईलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए।

उपाधि जित्न सफल राईलाई श्रीपेच लगाई घोडा चढाएर नगरपरिक्रमा समेत गराइएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई २० हजार, तेस्रो हुनेलाई खेलाडीलाई १० हजार र सान्त्वना हुन सफल दुईलाई २५\२५ सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तत्कालीन राजा द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट शुरु भएको दौड प्रतियोगिता नयाँबसपार्क हरमटारी चोक हुँदै गोरखा दरबारस्थित हनुमानथान पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिहान एक कार्यक्रमका बीच गोरखा क्षेत्र नम्बर १ का सङ्घीय सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए।

  • 4
    Shares