You are here
Home > समाचार > ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते

ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते

७ पुष २०७५, शनिबार १०:५५

काठमाडौं –ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा पेस्तोल पड्किँदा प्रहरी जवान घाइते भएका छन् । प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङले बोक्ने पेस्तोल शुक्रबार राति पड्किँदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका हुन् ।

ललितपुर महानगरीय प्रहरी परिसरका एसपी शेखर खनालनका अनुसार घटना राति ९ बजेको हो । महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान श्रेष्ठ असई तामाङ सुत्ने कोठामा शुक्रबार राति आएका थिए ।

यसै क्रममा असई तामाङले पेस्तोलमा गोली अनलोड गर्ने क्रममा अचानक पड्केर प्रहरी जवान श्रेष्ठलाई गोली लागेको एसपी खनालले जानकारी दिए ।

बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भिर छ।

घटना अनुसन्धानका लागि ललितपुर प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।घटनापछि असई तामाङलाई ललितपुर प्रहरी परिसरको नियन्त्रणमा राखिएको छ ।