You are here
Home > समाचार > निर्मला पन्त प्रकरणमा सैनिकमाथि अनुसन्धान सुरु

निर्मला पन्त प्रकरणमा सैनिकमाथि अनुसन्धान सुरु

८ पुष २०७५, आईतवार १५:४१

काठमाडौं-बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रहरीले केही सैनिकहरुको डिएनए परिक्षण प्रक्रिया अघि बढाएको छ ।

स्रोतका अनुसार १० साउनमा ब्यारेकबाट निस्किएका चार सैनिकको डिएनए परीक्षणका लागि रगतको नमूना लिइएको छ । १० साउनमा साथीको घर गएकी निर्मलाको भोलिपल्ट नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

हालै प्रहरीले डिएनए परीक्षणका लागि रगत लिएका १६ मध्ये चारजना सैनिक रहेको स्रोत बताउँछ । ‘सेनाले अनुसन्धानमा सहयोग गरिरहेको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘ठूलो संख्यामा डिएनए परीक्षण अघि बढेको छ, थप सैनिकको पनि नमूना लिन सक्छौं ।’

निर्मलाको शव भेटिएको स्थानबाट करिब तीन सय मिटरमा सेनाको बाहिनी छ । त्यसकारण कतिपयले सैनिक पनि घटनामा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ । यसअघि तत्कालीन एसपी दिल्लीराज बिगटसहित नौ जनाको डिएनए परीक्षण गरिएको थियो ।

घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले समेत घटनामा १८ प्रहरीको लापरबाही र गलत नियत देखिएको भन्दै कारबाही गर्न सिफारिस गरिसकेको छ ।

घटनामा संलग्नताको आधारमा प्रहरीले स्थानीय प्रदीप रावल र बिशाल चौधरीलाई पक्राउ गरेको थियो । घटनास्थलको अवस्था र उनीहरूको भनाई ठ्याक्कै मिलेको प्रहरीको भनाई थियो । त्यसैले सोधपुछमा आइजिपी सर्वेन्द्र खनाल आफैं खटिएका थिए । अनुसन्धान सफल हुने ठानेर नै प्रहरीले दुवैलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाएको थियो । तर, अपराध स्वीकार गरेका उनीहरूविरुद्ध प्रहरीले पर्याप्त प्रमाण संकलन गर्न सकेन । १८ दिनपछि विशाल छुटेका छन् ।