You are here
Home > राजनीति > जापान- नेपालको भरपर्दो विकास साझेदारी राष्ट्रः अध्यक्ष प्रचण्ड

जापान- नेपालको भरपर्दो विकास साझेदारी राष्ट्रः अध्यक्ष प्रचण्ड

९ पुष २०७५, सोमबार १४:५२

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गरेका छन्।

अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराए। सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पनि उल्लेख गरे।

उनले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले पनि विशिष्ट ढंगको रहेको पनि बताए। जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रसंशा गरे। उनले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराए।

  • 6
    Shares