You are here
Home > समाचार > अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

२० पुष २०७५, शुक्रबार १८:०७

रौतहट-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना सङकलनको साथै हरेक अपराधिक क्रियाकलाप निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण रहने बताएका छन ।

रौतहटको गौर नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त नगरपालिकास्थित शहर केन्द्रित महत्वपूर्ण १० स्थानहरुमा जडित अत्याधुनिक वायरलेस सिसीटिभी तथा मोनिटर कक्षको उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रिय सहभागिता तथा गौर नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले गौर नगरपालिकाको तर्फबाट जोडिएका उक्त सिसीटिभी जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्रविधि सहित हस्तान्तरण समेत गरेका छन ।

साथै उनले सिसीटिभी जडान कार्यमा महत्वपूर्ण योगदान दिने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

कार्यक्रममा खनालले प्रविधिमैत्री पुलिसिङलाई सिसीटिभी जडान कार्यले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सूचना संयन्त्रलाई अझै मजवुद बनाउने क्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसीटिभी जडान गरिएको उल्लेख गरे ।

यस कार्यबाट अपराधिक गतिविधि निगरानी गरी अनुसन्धानमा सप्रमाण सहयोगी भूमिका निर्वाह हुने उनले बताए ।

साझेदारी कार्यक्रमले अपराध अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्ने चर्चा गर्दै महानिरीक्षक खनालले साझेदारी कार्यक्रमलाई देशका कुनाकुनामा अझै प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेमा जोड दिए ।

उक्त कार्यक्रमपछि प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण समेत गरेका छन। निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी कर्मचारीहरुले संगठनको नीति र प्राथमिकताको आधारमा अझै बढी सक्रिय भई जनमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यलाय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

  • 22
    Shares