You are here
Home > समाचार > प्रदेश २ का आर्थिक तथा योजना मन्त्रीद्धारा सचिव कुटिए

प्रदेश २ का आर्थिक तथा योजना मन्त्रीद्धारा सचिव कुटिए

२९ पुष २०७५, आईतवार १७:३०

काठमाडौं– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई परियोजना नदिएको भन्दै उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका छन्।

आइतबार दिउँसो कार्यकक्षमै बोलाएर मन्त्री यादवले सचिव झालाई कुटपिट गरेका हुन्।कुटपिटपछि मन्त्री यादवले प्रहरीलाई खबर गर्दै नियन्त्रणमा लिन समेत निर्देशन दिएको बताइएको छ ।

मन्त्रीले सचिवलाई कुटपिट गर्दै नियन्त्रणमा समेत दिन प्रहरीलाई निर्देशन दिएपछि अहिले कर्मचारीले विरोधमा मन्त्री यादवको कार्यालयमा धर्ना दिएका छन् ।

स्रोतका अनुसार क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १९३ गैरसरकारी संस्थाले प्रस्ताव ल्याएकोमा ४० वटा मात्रै छनोटमा परेका थिए ।उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।