You are here
Home > समाचार > प्रहरीद्धारा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

प्रहरीद्धारा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

२ माघ २०७५, बुधबार १२:५३

पर्वत-लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ। पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो। अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ।

पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो। पर्वतमा गएको आव २०७४÷७५ मा जम्मा दुई वटा र २०७३÷७४ मा एउटा मात्रै लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

भदौ महीनामा एउटा, कात्तिक र मङ्सिरमा तीन\तीन वटा मुद्दा दर्ता गरेको छ भने पुसमा दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रमा समेत दुव्र्यसनीको समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ। अघिल्ला वर्षको मुद्दा हेर्दा पर्वतमा लागुऔषधको खासै समस्या छैनजस्तो लागेको थियो प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भने, “समुदायमा पुग्दा भित्रभित्रै भुसको आगो जस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरु गर्यौं।

जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरुले खरीद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बागलुङ र म्याग्दीसमेत पुगेर दुव्र्यसनी पक्राउ गर्न प्रहरी सफल भएको उनको भनाइ छ।

पर्वतमा केही लागुऔषध बागलुङबाट भित्रिने गरेको पाइएको छ भने अलि ठूलो परिणाम पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरीद हुँदै आएको प्रहरीको भनाइ छ।

अभियानका क्रममा प्रहरीले गाँजा र चरेश बढी सेवनकर्तालाई पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेटजस्ता लागुऔषधको पनि प्रयोग भएको पाइन्छ।

लागुऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन्। दुव्र्यसनमा फस्नेमा बढी जनजाति र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ। युवा र विद्यार्थी दुव्र्यसनमा फस्न थालेपछि अपरेशन सँगसँगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ।

पर्वतका सबै विद्यालयमा पुगेर लागुऔषधका विरुद्ध विद्यार्थीमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बीचमा समेत सचेतना कक्षा सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए।

सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतनासमेत सँगसँगै लगेपछि दुव्र्यसनमा कमी आउने विश्वास लिएको प्रनाउ तिवारीको भनाइ छ।

  • 2
    Shares