You are here
Home > समाचार > कानूनले दिएको अधिकार निर्धक्क रुपमा प्रयोग गर्न आइजिपि खनालको निर्देशन

कानूनले दिएको अधिकार निर्धक्क रुपमा प्रयोग गर्न आइजिपि खनालको निर्देशन

६ माघ २०७५, आईतवार १५:५०

काठमाडौं –नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले कानुनले दिएको अधिकार निर्धक्क रुपमा प्रयोग गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नागरिक सहायता कक्षको नवनिर्मित भवन उद्घाटन गर्दै खनालले प्रहरी र समुदायको सहकार्यबाटै समाजलाई भयरहित र सुरक्षित बनाउन सकिने बताउँदै प्रहरीलार्इ जनताको सहयोग लिएर अगाडि बढ्न सुझाव दिएका हुन्। खनालले नेपाल प्रहरीको काम संसारमै उदाहरणीय भएको पनि बताएका छन् ।

आईजीपी खनालले भने ‘‘नेपाल प्रहरी जनताको प्रहरी हो । यसले मानवअधिकारको संरक्षण गर्दै समुदायसँगै मिलेर समुदायकै हितमा काम गर्छ । हाम्रा हरेक कामहरु हामीले पारदर्शी बनाउन खोजेका छौं । काम गर्दा हाम्रा कमजोरी भए निर्धक्क भएर जनताले गुनासो गरे हुन्छ,’’। प्रमाणमुखी अनुसन्धान गर्न निर्देशन दिँदै खनालले उपलब्ध भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

खनालले भने, ‘‘विगतमा प्रहरीले यति रकम खायो भन्ने सुनिन्थ्यो । तर अब दुई रुपैयाँ पनि घुस खाएको सुन्न नपरोस् । आफ्नो दायित्व र जिम्मेवारी बिर्सनेलाई छुट हुँदैन ।’’ खनालले अपराध न्यूनीकरण गर्न प्रहरी सफल भएको दाबी गर्दै गुण्डाहरुको जरै उखेलेर नष्ट गर्न अधिकारीहरुलाई निर्देशन दिए ।

नेपाल बंगलादेश बैंकको सहयोगमा १९ लाख ५० हजारको लागतमा नागरिक सहायता कक्ष निर्माण भएको हो। सहायता कक्षमा सेवाग्राहीका लागि फ्रि वाइफाइ, टेलिभिजन, चिसो–तातो पानी, निःशुल्क आवेदन फारम राखिनेछ ।

  • 2
    Shares