You are here
Home > समाचार > सैनिक नियमावली संसोधन गर्न ६ सदस्यीय कार्यदल गठन

सैनिक नियमावली संसोधन गर्न ६ सदस्यीय कार्यदल गठन

८ माघ २०७५, मंगलवार २०:४२

काठमाडौं –रक्षा मन्त्रालयले सैनिक सेवा नियमावली संसोधन गर्न सहसचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ।
रक्षा मन्त्रालयको कानुन महाशाखा प्रमुख (सहसचिव) ऋषि राजभण्डारीको संयोजकत्वमा सैनिक सेवा नियमावली २०६९ संसोधनका लागि कार्यदल गठन गरेको हो।

रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव वावुराम गौतमका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट सैनिक नियमाली संसोधन गर्न कार्यदल गठन गरेका हुन्।

कार्यदलमा रक्षा मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संसाधन विकास महाशाखा प्रमुख (सहसचिव), नेपाली सेनाको व्यवस्था र नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ।

सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्तिविकास लगायतका विषयलाई समय अनुकूल बनाउँन नियमावली संसोधन कार्य अघि बढाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालबाट लागू गरिएको फास्टट्रयाक बढुवा प्रणाली पनि सैनिक नियमावली संसोधनसँगै खारेज गर्ने तयारी छ ।

  • 46
    Shares