You are here
Home > समाचार > सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

९ माघ २०७५, बुधबार १३:२८

काठमाडौं – प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ।प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन्।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो। सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए। चौधरीमाथि २ गोली लागेको छ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए। सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो।

  • 5
    Shares