You are here
Home > समाचार > नेपाली सेनाले गर्यो पहिलो पटक शुल्क तिरेर भवनको नक्सापास

नेपाली सेनाले गर्यो पहिलो पटक शुल्क तिरेर भवनको नक्सापास

१० माघ २०७५, बिहीबार ०८:५६

काठमाडौं-नेपाली सेनाले पहिलोपटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ। सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसायिक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख रुपैयाँ शुल्क बुझाएको हो।
नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर त्रिचन्द्र मिलिटरी अस्पताल परिसरका संरचनाको नक्सा पास गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। शुल्क तिरेसँगै सेनाले ‘निर्माण सम्पन्न प्रमाणपत्र’ पाएको छ।

सेनाले अन्य भौतिक संरचनाको पनि नक्सापास गरिदिन महानगरपालिकालाई पत्राचार गरेको छ। देशभर नक्सापासबिनै सेनाका ८ हजारभन्दा बढी भौतिक संरचना बनाइएका छन्। विनासकारी भूकम्पपछि बनाइएका संरचनाको पनि सेनाले नक्सा पास गरेको छैन।

भवन ऐन २०५५ र त्यससँग सम्वन्धित नियमावली-निर्देशिका अनुसार भवन निर्माण गर्न चाहने व्यक्ति,संस्था वा सरकारी निकायले प्रचलित कानुन बमोजिम स्वीकृतिको लागि नगरपालिका,गाउँपालिका समक्ष दरखास्त दिँदा नक्सा र डिजाइन समेत पेश गर्नुपर्ने व्यवस्था छ । तर, सेनाले उक्त कानुनको पालना गरेको थिएन ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले महांकालस्थित सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएका भौतिक संरचनाको शुल्क लिएर नक्सापास गरिएको बताए ।

सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले पनि काठमाडौं महानगरपालिकालाई शुल्क तिरेर महांकाल परिसरमा निर्माण गरिएका भौतिक संचनाको नक्सा पास गरिएको पुष्टि पारे।

  • 6
    Shares