You are here
Home > समाचार > प्रहरीमा सात महिनापछि टेण्डर, गुणस्तरमा ठेकेदारको चलखेल

प्रहरीमा सात महिनापछि टेण्डर, गुणस्तरमा ठेकेदारको चलखेल

१० माघ २०७५, बिहीबार १८:१८

काठमाडौं- नेपाल प्रहरीले आर्थिक बर्षको ७ महिनापछि २०७५ पुस १८ मा १६ किसिमका सामानका लागि टेण्डर गरेको छ ।आर्थिक बर्षको सुरुमै टेण्डर गरी प्रहरीका लागि जाडोमा ज्याकेट, स्वीटर जस्ता न्यानो लुगा दिनुपर्ने हो । तर मध्यजाडोमा सामानको टेण्डर गरिसकेपछि मध्यगर्मी अर्थात् चैत अन्तिममा सामान सामान आउने प्रहरी स्रोत बताउँछ । जाडोका लागि गएको कात्तिक सुरुमै प्रहरीलाई न्यानो लुगा दिनुपर्ने थियो ।

प्रहरीले बल्लबल्ल ७ महिनामा गरेको टेण्डरमा भारतस्थित गुणस्तर परीक्षण गर्दैआएका अन्तर्राष्ट्रिय मापदण्डका एसजीएस र आइटीएसको टेष्ट गरिएको रिपोर्ट हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रहरीले यस्तो प्रावधान राखेपछि ठेकेदारहरु एसजीएस र आइटीएसमै सेटिङ गर्न लागेका छन् । गुणस्तर परीक्षणमा गडबड गरी कमसल सामान प्रहरीमा सप्लाई गर्न ठेकेदारहरु जुटेका छन् ।

नेपालको गुणस्तर तथा नापतौल विभागमा ठेकेदाहरुले सेटिङ गर्दै गुणस्तरहीन सामान आपूर्ति गरेको ब्यापक गुनासोपछि उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा दिल्लीमा रहेको एसजीएस र दक्षिण भारतको त्रिपुरस्थित आइटीएसमा टेष्ट गरेको रिपोर्ट लिएर मात्र सामान बुझ्ने ब्यवस्था गरेका थिए ।

उनले पहिला सामानको नमूना पनि एसजीएस वा आइटीएस पास भएको हुनुपर्ने र बुझाएको सामान पनि गुणस्तर पास भएको रिपोर्ट हुनुपर्ने ब्यवस्था गरिदिएका थिए । त्यसपछि गुणस्तरमा गडबड गर्ने ठेकेदारहरुको थुप्रै सामान फेल भएको थियो ।

त्यसमध्ये दीपक मल्होत्राको ३५ हजार जोर डीएमएस बुट पनि हो । तर हालका आइजीपी सर्वेन्द्र खनाल आएपछि उक्त बुट मल्होत्राले प्रबन्धका इन्स्पेक्टर केशव गौतमसँग सेटिङ गरी भुक्तानी लिन सफल भएका थिए ।

वर्तमान आइजीपी सर्वेन्द्र खनालले पनि सामान खरिदका लागि गरिएको टेण्डरमा एसजीएस र आइटीएस पास भएको हुनुपर्ने सर्त राखेका छन् । प्रहरीले यस्तो सर्त राखेपछि प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरु एसजीएस र आइटीएस सेटिङमा लागेका छन् ।

ण्डर गरेका सामानहरुमा कटन सर्ट २ लाख ५२ हजार मिटर, कटन पाइन्ट १ लाख ६० हजार मिटर, चुस्ता १ लाख ८० हजार मिटर, ऊलन सर्ट ६५ हजार मिटर र ऊलन पाइन्ट २६ हजार ५ सय मिटर छन् ।

त्यसैगरी ऊलन ब्ल्यांकेट ३६ हजार वटा, पीटी जुत्ता ४६ हजार जोर, रुकस्याक ब्याग ५ हजार वटा, अन्डर ट्राउजर भेष्ट ३७ हजार ५ सय सेट, ऊलन स्वीटर २४ हजार थान, पार्का ज्याकेट १५ हजार ५ सय जोर, स्लीपीङ ब्याग १० हजार थान, मस्वीटो नेट २० हजार थान, ब्यारेट क्याप ३७ हजार वटा, रेनकोट १० हजार थान र डीएमएस बुट ३० हजार जोर खरिदका लागि टेण्डर गरेको छ।

  • 1
    Share