You are here
Home > समाचार > संस्थागत विकासका लागि समुदाय- प्रहरी साझेदारी कार्यक्रमः आइजिपी खनाल 

संस्थागत विकासका लागि समुदाय- प्रहरी साझेदारी कार्यक्रमः आइजिपी खनाल 

१४ माघ २०७५, सोमबार १६:५६

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चौविसै घन्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमानदार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी संस्थागत प्रणाली विकास गर्न समुदाय-प्रहरी साझेदारी अवधारणा ल्याइएको बताएका छन्।

प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रशिक्षक तथा प्रहरी कर्मचारीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार निर्देशन दिने क्रममा बताएका हुन्।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रममा खटिने प्रहरी कर्मचारीहरु यसको उद्धेश्य, अवधारणा र मर्मबारे स्पष्ट हुनुपर्ने उल्लेख गर्दै विगतका सामुदायिक प्रहरी लगायतका कार्यक्रमहरुमा थप आयामहरु समावेश गरी कार्यक्रम ल्याइएको चर्चा गरे।

लागूऔषध, घरेलु हिंसा, बाल विवाह, लैङ्गिक सुरक्षा जस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकोले यस्ता अपराधबारे नागरिकहरुलाई जानकारी दिन, उनीहरुको भूमिकाबारे सचेत गराउन र उनीहरु मार्फत नै प्रहरीलाई आवश्यक सूचना तथा सहयोग प्राप्त गरी अपराधमुक्त समाज निर्माण गर्न समुदाय-प्रहरी साझेदारी अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रहरीले कार्य सम्पादन गर्दा पारदर्शिता अनिवार्य रुपमा लागू गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पारदर्शिता कायम गर्दा नागरिकबाट उल्लेख सहयोग पाउन सकिने भएकोले नागरिकसँग अन्तरक्रिया, सार्वजनिक सुनुवाई, लगायतका कार्यक्रम नियमित रुपमा गर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

अवधारणा अन्तर्गत १२ वटा प्राथमिकताका विषयहरु राखिएको, यसबारे समुदायमा खटिने प्रहरी कर्मचारी आफू स्पष्ट हुनुपर्ने र समुदायलाई समेत जानकारी दिन सक्ने हुनुपर्ने उनले चर्चा गरे।

  • 1
    Share