You are here
Home > खेलकुद > एक दिवसीय सिरिजमा यूएईबिरुद्ध नेपालको शानदार जीत

एक दिवसीय सिरिजमा यूएईबिरुद्ध नेपालको शानदार जीत

१४ माघ २०७५, सोमबार २०:२९

काठमाडौं- यूएईबिरुद्धको एक दिवसीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ। यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको हाे। कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जीत दिलाएको छ। नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ।

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा २५४ रन बनाएको थियो। विशाल स्कोरको लक्ष्य पछ्याएकाे  नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएकाे थियाे। यूएईले दिएको विशाल लक्ष्य पछ्याउँदै नेपालले ३२ बल बाँकि छदै ४ विकेटले जितेको हाे।

टस जितेर नेपालले यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। सुरुवातमा यूएईका खेलाडीहरु नेपाली बलरका अगाडी धरापमा परेका थिए। साहिमान अनवरले ८७ रन बनाएपछि यूएई २५४ रनको बलियो स्थितिमा पुगेको थियो। तर नेपालका कप्तान पारस खड्काले यूएईको सिरिज जित्ने सपनालाई तुहाई दिएका छन्।

११५ रन बनाएर उनले अन्तराष्ट्रिय एक दिवसीय खेलमा पहिलो शतक बनाए। खड्काका लागि मात्र नभई नेपाली खेलाडीकै लागि एक दिवशीय खेलमा बनाएको यो पहिलो शतक हो। एक दिवसीय खेलमा पहिलो शतक बनाउने खेलाडी कप्तान खड्का बनेका छन् । नेपालका ओपनर ब्याट्म्यान ज्ञानेन्द्र मल्लले पनि ३१ रन बनाएका थिए।

अन्तराष्ट्रिय क्रिकेटमा पहिलो डेब्यू गरेका सन्दीप झोराले १९ रन बनाए। अन्तिममा ब्याटिङ गर्न आएका सोमपाल कामीले तीन चौक र एक छक्काको मद्दतमा २६ रन बनाउँदै खेल जिताए।