You are here
Home > समाचार > उपत्यकामा चोरको बिगबिगी, एक महिनामा ११५ जना समातिए

उपत्यकामा चोरको बिगबिगी, एक महिनामा ११५ जना समातिए

१५ माघ २०७५, मंगलवार १०:५४

काठमाडौं-पछिल्लो समय काठमाडौंमा चोरको बिगबिगी देखिएको छ। प्रहरीले एक महिनाभित्र काठमाडौं उपत्यकाबाट चोरीमा संलग्न १ सय १५ जनालाई पक्राउ गरेपछि चोरको बिगबिगी देखिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले थालेको एक महिना लामो अप्रेशनमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरू पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले पाकेटमारपछि चोरीमा संलग्नविरुद्ध प्रहरीले विशेष अपरेसन चलाएको बताउनु भयो । ‘केही महिनाअघि सयजनाकै हाराहारीमा पाकेटमार समात्यौँ । ती सबै सार्वजनिक बसमा यात्रुको पाकेट मार्ने कार्यमा संलग्न थिए,’ एसएसपी लामाले भन्नुभयो, ‘उनीहरूमध्ये केही जेलमा र केही धरौटीमा छुटेका छन् । केही भने काठमाडौं छाडेर भागिसकेका छन् ।’

प्रहरीले रातको समयभन्दा दिउँसो धेरै चोरी हुने घटननाबढी रहको बताएको छ । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले सो जानकारी गराएको हो । विशेषगरी सुनसान तथा एकान्त स्थानका घरमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू समूहमा रहने र समूहमै रहेर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ ।

‘काठमाडौंमा राति चोरीका घटना कम भए पनि दिउँसो बढेको छ,’ एसएसपी लामाले भन्नुभयो, ‘एकान्त तथा सुनसान घरलाई निशाना बनाएर समूहमा घरभित्र छिर्छन् । केही मिनेटभित्रै सम्पूर्ण सामान लिएर फरार हुन्छन् ।’

प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको रेकी गर्ने, कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ ।

  • 1
    Share