You are here
Home > समाचार > गृहमन्त्रीले भने –‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ सुरक्षा व्यवस्था कडा पारिने

गृहमन्त्रीले भने –‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ सुरक्षा व्यवस्था कडा पारिने

२१ माघ २०७५, सोमबार ०७:०८

काभ्रेपलाञ्चोक- गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन् । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आइतबार बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिए ।

गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन् भन्दै वर्तमान सरकार सजग रहने बताए । “विकास रोक्ने र पुरानै व्यवस्था ब्युँताउनका लागि केही तत्व शान्ति खलबल्याउन लागेका छन्, त्यसलाई नियन्त्रण र निस्तेज पार्न केन्द्रीय सरकारले पनि सुरक्षा रणनीति अपनाउन लागेको हो ”, उनले भने ।

गृहमन्त्रीले देशका ७५३ वटै स्थानीय तहमा इलाकास्तरीय प्रहरी कार्यालय स्थापना गर्ने योजना रहेको पनि बताए । “देशका सबै स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ ”, उनले थपे ।

गृहमन्त्री थापाले संविधानमा सबै जातजातिको राजनीतिक र सांस्कृतिक अधिकार सुनिश्चित भइसकेको बताउँदै अब त्यस अधिकारलाई कार्यान्वयन गरी पूर्णता दिन बाँकी रहेको धारणा व्यक्त गरे ।