You are here
Home > समाचार > सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी बढाएर १७४ बनाइने

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी बढाएर १७४ बनाइने

२७ माघ २०७५, आईतवार २१:५३

काठमाडौं- सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना अघि सारेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमा सम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन् ।

आईतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको पनि जानकारी दिए ।

हाल १ सय ४ वटा सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी रहेकोमा अव त्यसलाई बढाएर १ सय ७४ वटा पु¥याउने मन्त्री ज्ञवालीको योजना छ । सीमा सुरक्षा चौकीको बिस्तार नेपालको भूमि कतैबाट पनि अतिक्रमण नहोस् भन्ने उद्देश्यले गर्न लागिएको पनि मन्त्री ज्ञवालीले समितिलाई जानकारी गराए ।

उनले नदीमार्फत् हुने सीमा अतिक्रमण रोक्नका लागि सीमा स्तम्भ बनाउनुपर्ने भएकाले त्यसका लागि सरकारले बजेट जुटाउने काम गरिरहेको पनि बताए ।

बैठकमा समितिका सदस्यहरुले सीमा क्षेत्रका जनताको लालपूर्जा समेत खोसेर सीमा मिचिने गरेको भन्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई सचेत गराएका थिए ।

सीमा सुरक्षाका लागि सुरक्षा चौकीहरु बनाउँदा नेपालले अन्तराष्ट्रिय कानुन अनुसार स्वाधिन राष्ट्रको हैसियतले बनाउनुपर्ने आवश्यक्ता पनि औंलाएका छन ।

समितिका सदस्य भीम रावलले नेपाली भूमिको सुरक्षा हुने व्यवस्थासहित सुरक्षा चौंकीहरुको स्थापना गर्न सरकारलाई सचेत गराए । उनले अन्तराष्ट्रिय कानुनले दिएको अधिकारको प्रयोग गरेर भारत र चीन दुवै मुलुकबाट नेपालको सीमा अतिक्रमण हुन नदिने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे ।

समितिकी सदस्य उमा रेग्मीले सीमा क्षेत्रका जनताको लालपूर्जानै खोसेर नेपालको सीमा मिचिएको उल्लेख गर्दैै त्यस्ता काम हुन नदिन सरकारलाई सचेत गराइन् ।

  • 330
    Shares