You are here
Home > प्रशासन > ३३ किलो सुनकाण्ड प्रकरणः थप दुई न्यायाधीशमाथि छानविन शुरु

३३ किलो सुनकाण्ड प्रकरणः थप दुई न्यायाधीशमाथि छानविन शुरु

२९ माघ २०७५, मंगलवार १०:२०

काठमाडौं-साढे ३३ किलो सुनकाण्डमा साधारण तारेखमा अभियुक्त छुटाउन आदेश दिने विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जगत पाण्डे र साधुराम सापकोटालाई न्याय परिषद्मा तानेर छानविन थालिएको छ।

सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा उनीहरूलाई छानविनका लागि न्यायपरिषद्ले तानेको हो। यसअघि पनि साढे ३३ किलो सुनकाण्डमा विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका ५ जना न्यायाधीश तानिएका थिए।

उनीहरुमाथि पनि छानविन जारी छ। न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद सचिवालयमा तानिएको हो।

न्यायधीश पाण्डे र सापकोटालाई पनि न्यायपरिषद्मा झिकाएर विस्तृत छानबिन गर्ने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सक्रियतामा केही दिनअघि निर्णय भएको हो। न्यायपरिषद् अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश राणाको सक्रियतामा पछिल्लो समय न्याय क्षेत्रको शुद्धिकरण थालिएको हो ।

विराटनगर उच्च अदालतका मात्रै ७ न्यायधीशमाथि छानबिन चलिरहेको छ ।तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै न्याधीशहरुमाथि छानबिनका लागि परिषद्मा तानिएको हो ।