You are here
Home > समाचार > अनुमतिबिनै सिसी क्यामरा

अनुमतिबिनै सिसी क्यामरा

२ फाल्गुन २०७५, बिहीबार ११:०४

बाँके-बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ। अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ।

सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण छैन। नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ सिसी टिभी क्यामरा जडान गरिएको छ।

यीमध्ये अधिकांश सिसी क्यामरा कानून विपरीत अनुमतिबिनै जडान भएका छन्। केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिए पनि त्यसपछि नवीकरण गरेका छैनन्। बाँकेमा ३८ संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन्।

सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको पाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालका अनुसार नेपालगञ्जस्थित ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टीमा जडान गरिएका सिसी क्यामरा मापदण्ड विपरीत देखिएका छन्। यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको छ।

नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन्। नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट र स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको पाइएको छ।

नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ। पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिएको सहायक प्रजिअ अर्यालले बताए।

करोडौँ रुपैयाँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको उलङ्घन गरेको पाइएको छ। रोकथाम तथा यस्ता निकायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिएको छैन। जिल्लामा जताततै सिसी क्यामरा जडान गरिएको र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि कडाइ गर्न थालेको छ।

जिल्ला प्रशासन कार्यालयले सिसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई सात दिनभित्र अनुमित लिई मापदण्ड पुर्याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ। कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कानूनले तोकेअनुसारको कारवाही गरिनेछ।

सहायक प्रजिअ अर्यालले सिसी क्यामरा राख्न अनुमति लिएकाले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पूरा नगरेको बताए।  “सिसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा ९० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्छ, सूचना स्पष्ट देखिने गरी राख्नु पर्छ। अधिकांशले मापदण्ड पूरा गरेका छैनन्”, उनले भने।