You are here
Home > समाचार > प्रधानमन्त्री ओलीद्धारा पानीजहाज कार्यालयको उद्घाटन 

प्रधानमन्त्री ओलीद्धारा पानीजहाज कार्यालयको उद्घाटन 

२ फाल्गुन २०७५, बिहीबार १३:०९

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्।बिहिबार ललितपुरको एकान्तकुना पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ स्थापना गरिएको पानीजहाज कार्यालयको उद्घाटन गरेका हुन्। पानीजहाज ऐन २०२७ अनुसार कार्यालय स्थापना भएको हो। पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहनेछ।

कार्यालय उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले पानीजहाज सञ्चालनका लागि सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको बताए। मन्त्री रघुवीर महासेठले हजार माइलको बाटो पनि एक पाइलाबाटै सुरू हुने बताउँदै भूपरिवेष्टित देश भए पनि नेपाललाई पानीजहाजले जलमार्गबाट विश्वभरि जोड्ने बताए।

सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरिसकेको छ। मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए।

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ। हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ।