You are here
Home > समाचार > कश्मिरमा आतंकवादी हमला, ४२ सुरक्षाकर्मीको ज्यान गयो

कश्मिरमा आतंकवादी हमला, ४२ सुरक्षाकर्मीको ज्यान गयो

३ फाल्गुन २०७५, शुक्रबार ०९:३०

नयाँ दिल्ली –भारतको उत्तरी राज्य काश्मिरमा  ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन्।

करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् ।  यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए । यो हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।

समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए ।  सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको काकापोराका बासिन्दा आदिल २०१८ मा  जैसमा सामेल भएका थिए ।

एक भारतीय अधिकारीका अनुसार आतंकवादी हमलामा परेका सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने  योजना थियो ।

एकसाथ २५४७ जवान लिएर हिँडेका गाडीसँगै  सडक खुलाउने टोली र बख्तरबन्द आतंकरोधी गाडी पनि थिए । जुन बसमा आक्रमण भयो त्यसमा ७६औँ  बटालियनका ३९ जना सवार थिए । मारिएका थप सुरक्षाकर्मीमा अर्को साधनका पनि थिए । घटनापछि डाक्टर र बम विशेषज्ञको टोली घटनास्थलमा पुगिसकेको छ ।