You are here
Home > समाचार > नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारी अन्तिम चरणमाः पोखरेल

नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारी अन्तिम चरणमाः पोखरेल

१४ फाल्गुन २०७५, मंगलवार १९:४४

काठमाडौं-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निजामती सेवाको २४ घको जस्तो नेपाली सेनामा पदक्रम (चेन अफ कमाण्ड) नै बिग्रने गरी गरिएको ‘फाष्ट ट्र्याक’ बढुवा व्यवस्था सच्याइएको बताएका छन्।

आफूले रक्षा मन्त्रालयको जिम्मेवारी लिएको एक वर्षको कार्यकालमा सम्पादित मुख्य कार्यबारे पत्रकारलाई मंगलबार जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले केही विशिष्ट योगदान भएका व्यक्तिबाहेक चेन अफ कमाण्ड नै खलल हुने गरी सेनामा अब फाष्ट ट्र्याकबाट बढुवा नहुने बताए।

रक्षामन्त्री पोखरेलले भने, “राष्ट्रिय सुरक्षा परिषद् ऐनको मस्यौदा तयार गरी सङ्घीय संसद्मा पेश गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिएको छ, जेनेभा महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा ऐनको मस्यौदा तयार गरी संसद्मा पेश गर्ने गृहकार्य भइरहेको छ।”

शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकको थप छनोटलाई निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शान्ति सेना छनोट कार्यविधि २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै उनले भने, “द्वन्द्व प्रभावित तथा दुर्घटनामा परेका सैनिक तथा तिनका आश्रित परिवारलाई उचित सुविधा प्रदान गर्न सैनिक सेवा नियमावली २०६९ को पहिलो संशोधन गरी कानूनी आधार तयार भएको छ ।”

मौजुदा राष्ट्रिय सुरक्षा नीति २०७३ लाई पुनरवलोकन गरी नयाँ नीति बनाउने काम अन्तिम चरणमा पुगेको तथा प्रतिरक्षा नीतिको प्रारम्भिक मस्यौदालाई आवश्यक परिमार्जन गरी राष्ट्रिय सुरक्षा परिषद्मा पेश गरिएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।

बङ्करदेखि ब्यारेक कार्यक्रमअन्तर्गत १६९ वटा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएको तथा पोखरा र इटहरीमा सैनिक तथा गैरसैनिकलाई समेत सेवा उपलब्ध गराउने गरी सैनिक अस्पताल निर्माण भइरहेको पनि सो अवसरमा जानकारी दिइयो ।