You are here
Home > समाचार > पाकिस्तानले कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार रिहा गर्दै

पाकिस्तानले कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार रिहा गर्दै

१६ फाल्गुन २०७५, बिहीबार १८:२६

काठमाडौं- पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई भोलि (शुक्रबार) रिहा गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने जानकारी गराएका छन् ।

बुधबारको हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए । सोही क्रममा उनी पाकिस्तानी पक्षको नियन्त्रणमा पुगेका हुन् ।

भारतले सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको भोलिपल्टै पाकिस्तानले फिर्ता गर्ने बताएको हो । पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको तनावलाई मत्थर गर्न वर्तमानलाई फिर्ता पठाउने तयारी गरेका हुन् । शान्तिको संकेतका रुपमा उनलाई फिर्ता गर्न लागिएको खानले संसदलाई जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।

प्यारासुटबाट हाफ फालेर ज्यान बचाएका भारतीय लडाकु विमानका चालक वर्तमानलाई पाकिस्तानी भूमिमा पहिलो पटक महमद राजक चौधरीले देखेका थिए । भारतीय लडाकु देखेपछि उनी दौडिदै उनको नजिक पुगेका थिए ।

भारतीय झण्डा लगाएको देखेपछि उनलाई पाकिस्तानी गाउँलेले घेरेका थिए । त्यो बेला आत्मरक्षाका लागि उनले हवाई फायर गरेका थिए। फायर खोलेपछि डराएका गाउँलेलाई झुक्याउँदै उनी भागेका थिए । उनले भाग्ने क्रममा समेत लगातार फायरिङ गरेका थिए ।

स्थानीयले उनलाई निरन्तर लखेटिरहेका थिए । त्यही क्रममा उनी अप्ठेरो ठाउँमा लडेपछि स्थानीय पक्राउ गर्न सफल भएका हुन्। स्थानीयले पक्राउ गरेर कुटपिट गरेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । उनले भिडियो कुराकानीमा आफू पाकिस्तानी सेनाको नियन्त्रणमा सकुसल रहेको बताएका थिए ।