You are here
Home > राजनीति > अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

१९ फाल्गुन २०७५, आईतवार ०८:२९

काठमाडौं-शनिवार राति निधन भएका पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका अहिले पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ।

८२ वर्षीय अधिकारीको शनिवार राति ९ बजेर ३५ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको पार्थिव शरिर अहिले ९ः०० बजे देखि १२ः०० बजेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

तत्कालिन नेकपाएमालेका अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए।

विस १९९३ साल वैशाख २२ गते महोत्तरीको भमरपुरमा रामचन्द्र अधिकारी र पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रुपमा भरतमोहनको जम्न भएको थियो।

नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा माले र नेकपा मार्क्सवादीबीच पार्टी एकता सम्पन्न गर्न उनको योगदान रहेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ। दुईपटक उपप्रधानमन्त्री भइसकेका अधिकारीले चारपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

अधिकारी नेपाल कम्युनिष्ट पार्टीमा सन् १९५५ मा प्रवेश गरेपछि पार्टीको तेस्रो महाधिवेशनमा पोलिटव्युरो सदस्य निर्वाचित भएका थिए।