You are here
Home > समाचार > पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टिमा तीन छोरीले दिए दागबत्ति

पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टिमा तीन छोरीले दिए दागबत्ति

१९ फाल्गुन २०७५, आईतवार १८:२९

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।