You are here
Home > समाचार > आज सेना दिवस

आज सेना दिवस

२० फाल्गुन २०७५, सोमबार ०७:२७

काठमाडौ- महाशिवरात्रिका दिन सोमबार नेपाली सेनाले सेना दिवस देशरभर मनाउँदै छ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा  व्यावसायिक कला प्रदर्शन गर्ने छ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसको अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने छिन्। सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन्।

सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिएका छन्।

प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गर्ने छन् । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदै छन्।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन्।

सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु।”