You are here
Home > प्रशासन > गोविन्द र इन्द्रनारायणबिरुद्ध पौने चार करोडको मुद्दा दायर

गोविन्द र इन्द्रनारायणबिरुद्ध पौने चार करोडको मुद्दा दायर

२१ फाल्गुन २०७५, मंगलवार १९:१९

काठमाडौं-राजश्व अनुसन्धान विभागले रेमिट्यान्सको नाममा हुण्डी कारोबार गर्दै आएका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।राजश्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा हुण्डी कारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बूमाथि मुद्दा दायर गरेको छ । उनीहरुमाथि ३ करोड ६६ लाख विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

रिलायन्स सब–रेमिट प्रालिका सञ्चालक सुब्बाले इन्दनारायण लिम्बू समेतको साझेदारीमा रिलायन्स सब रेमिट प्रालि दर्ता गरी उक्त फर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाउबाट अर्को ठाउँ पठाएको कारोवार देखाई विदेशी विनिमय अपचलन गरेको विभागले फेला पारेको छ ।

उनीहरुले कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गिटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाव राखिएको समेत फेला परेको छ । त्यसमा प्रयोग गरिएका कन्ट्रोल नम्बर भनी कतिपय रेमिट्यान्स कम्पनीका कारोवारसम्बन्धी नेपालबाट नेपालमै रकम पठाउँदा प्रयोग गर्ने विभिन्न कम्पनीबाट प्राप्त पिनकोड प्रयोग भएको समेत पाइएको छ ।

सुब्बाले साथी भाइसँग लिनुपर्ने मलेसियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर, त्यो बराबर नेपाल सरकारलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा प्राप्त भने नभएको विभागले जानकारी दिएको छ ।