You are here
Home > समाचार > ट्राफिक प्रहरीले ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

ट्राफिक प्रहरीले ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

२६ फाल्गुन २०७५, आईतवार १९:०५

काठमाडौँ-काठमाडौँउपत्यकामा कार्यरत ट्रफिक प्रहरीले अब ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन्।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सोसम्बन्धी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ।

ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित ‘प्रोत्साहन भत्तासम्बन्धी निर्देशका २०७५’ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो तहका ट्राफिक प्रहरीले २० प्रतिशत देखि ३५ प्रतिशतसम्म भत्ता पाउने प्रस्तावमा उल्लेख छ।

जसमा प्रहरी हवल्दार, जवान र कार्यालय सहयोगीले सबैभन्दा बढी ३५ प्रतिशत भत्ता पाउने भएका छनु। जसअन्तर्गत प्रहरी हवल्दारले १८ हजार ३४० तलब बुझ्दै आएकोमा अव प्रोत्साहन भत्ता ६ हजार ४१९ थप पाउने भएका छन् भने प्रहरी जवानले १७ हजार २३० मा ६ हजार ३० प्रोत्साहन भत्ता पाउनेछन्। त्यस्तै कार्यालय सहयोगीले १६ हजार २३० पाउँदै आएकोमा ५ हजार ६८० थप पाउने भएका छन्।

त्यस्तै प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकले २५ प्रतिशत पोत्साहन भत्ता पाउने भएका छन्। सहमयक निरीक्षकले अहिले पाउदै आएको तलब २२ हजार १४० मा ५ हजार ५३५ थप पाउने भएका छन् भने नायव निरीक्षकले २३ हजार ५ सय पाउँदै आएकोमा ५ हजार ८७५ थप पाउनेछन्।

त्यस्तै प्रहरी निरीक्षकले २० र प्रहरी नायव उपरीक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।