You are here
Home > समाचार > फास्ट ट्रयाकको १७ किलोमिटर सेना आफैँले बनाउने

फास्ट ट्रयाकको १७ किलोमिटर सेना आफैँले बनाउने

२७ फाल्गुन २०७५, सोमबार ०६:५६

काठमाडौं- नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ ।

नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता प्रतिवेदन बुझाउने बताउनुभयो।

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उहाँले बताउनुभयो ।

यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो । सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो ।

परियोजना कार्यालयले केही प्राविधिक विषय र सरकारले दिएको कार्यादेश अनुसार डीपीआरको आवश्यक अध्ययन गरी सकेको र कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदनलाई नै केही सामान्य सुझाव बाहेक खासै परिवर्तन नगरेको पनि प्रमुख खाँडले बताउनुभयो ।

सरकारलाई बुझाउन लागिएको डीपीआरमा करीब ९९ वटा पुल कायम गरिएको उहाँले जानकारी दिनुभयो । यस अघि परियोजनाले पुलको संख्या कम गर्न तीनवटा थप सुरुङ्ग निर्माण गर्ने अवधारणा अगाडि ल्याएको थियो ।

नेपाली सेनालाई द्रूत मार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी दिइएको र त्यसलाई सेनाले ७६.२ किलोमिटर लामो मार्गलाई तीन मुख्य खण्डमा विभाजन गरी काम अगाडि बढाउने तयारी गरेको छ ।

१७ किलोमिटर सडक सेना आफैंले निर्माण गर्ने र ३७ किलो मिटर सडक निर्माणका लागि भरपर्दो नेपाली निर्माण कम्पनीलाई दिने र बाँकी २२.२ किलोमिटर सडक जसमा पुल र सुरुङ पर्छ त्यसलाई विदेशी कम्पनीलाई दिइने तयारी भइरहेको जनाइएको छ ।गोरखापत्र दैनिक समाचार छ ।