You are here
Home > खेलकुद > आजदेखि साफ च्याम्पियनसिप, प्रचण्डले उद्घाटन गर्ने

आजदेखि साफ च्याम्पियनसिप, प्रचण्डले उद्घाटन गर्ने

२८ फाल्गुन २०७५, मंगलवार ०८:३३

विराटनगर-पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ।

दिउँसो ३ बजे नेपालले उद्घाटन खेलमा भुटानसंग सामना गर्दै छ। नेपाल सुखद सुरुवात गर्दै उपाधि जित्ने लयमा खेल्नेछ। सेमिफाइनल यात्रा तय गर्न नेपालले भुटानलाई हराउनै पर्ने हुन्छ।

बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउनै पर्ने हुन्छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले उपाधिका लागि नै खेल्ने बताएका छन्।

यसअघिका चार संस्करणमध्ये तीन पटक फाइनल पुगेर पनि नेपालले उपाधि जितेको छैन। यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्।

च्याम्पियनसिपको समूह ए मा नेपाल, भुटान र बंगलादेश रहेको छ। समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन्।

  तामझामका साथ उद्घाटन 

प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ। उद्घाटनलाई भब्य बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिने छन्।

एन्फा प्रवक्ता किरण राईका अनुसार उद्घाटनका क्रममा छोटो मन्तव्य पनि हुनेछ। अनि खेलको मध्यान्तरमा सांस्कृतिक झाँकी प्रस्तुत गरेर दर्शकलाई लोभ्याउने प्रयास गरिने छ।

 उनका अनुसार नेपालबाट मात्र नभई विराटनगर भारतबाट पनि नजिक भएकाले छिमेकी मुलुकबाट समेत दर्शक आउने छन्।

टिकट मुल्य भने भिआइपीतर्फ ३ सय र साधारण प्याराफिटतर्फ २ सय रुपैयाँको टिकट राखिएको छ।