You are here
Home > समाचार > पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा

पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा

२८ फाल्गुन २०७५, मंगलवार १०:४४

तुल्सीपुर-उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएका छन्।

प्रहरीले उनीहरुलाई फागुन २१ गते तुलसीपुरमा आयोजित सहिद, बेपत्ता, घाइते, अपांग परिवारलाई अभिनन्दन कार्यक्रमबाट पक्राउ गरेको थियो।

पक्राउ परेका प्रदिपबहादुर वलीकी श्रीमती रमिता वलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामबहादुर थापाको इजलाशले उनीहरुलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै मुक्त गर्न आदेश दिएको हो।

पक्राउ गर्नु र थुनामा राख्नुको कुनै औचित्य र वैधता नदेखिएको भन्दै आदेशमा नेपालको संविधान र मुलुकी देवानी कार्यविधि संहिता ऐनले प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विचार अभिव्यक्त गर्ने र बिना हातहतियार शान्तिपूर्ण भेला गर्न पाउने अधिकार सुरक्षित गरेकाले विनाकारण थुनामा राख्न नमिल्ने उल्लेख गरिएको छ।

पक्राउ परेका व्यक्तिहरु विना हातहतियार शान्तिपूर्ण कार्यक्रममा सहभागी भएको र उनीहरुको साथबाट कुनै पनि कानुन विपरितका सामग्री फेला नपरेकाले थुनामा राख्नु औचित्यपूर्ण नहुने आदेशमा भनिएको छ।

आदेशमा प्रहरीलाई आगामी दिनमा कानुनी पक्रिया पुर्याएर मात्र पक्राउ र अनुसन्धान गर्न मार्गदर्शन हुनेगरी व्याख्या गरिएको छ। मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई पक्राउ गर्नुको सट्टा जरुरी पक्राउ पूर्जी जारी गरिएको र परिस्थिती हेर्दा त्यस्तो अवस्था नदेखिएको हुँदा विपक्षीबाट गरिएका काम कानुन सम्मत नदेखिएको आदेशमा भनिएको छ।

यसबाट विशेष परिस्थिती परी तत्काल पक्राउ गर्ने विशेष अधिकारको दुरुपयोग भई व्यक्तिको स्वेच्छाचारी पक्राउ र थुनाविरुद्धको अधिकार कुण्ठित हुने आदेशमा उल्लेख छ।