You are here
Home > समाचार > काठमाडौंमा चोरीका घट्ना बढ्दै, मंगलबार आठ लाखको धनमाल चोरी

काठमाडौंमा चोरीका घट्ना बढ्दै, मंगलबार आठ लाखको धनमाल चोरी

२८ फाल्गुन २०७५, मंगलवार १८:४७

काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब रु पाँच लाख ७७ हजार बराबरको धनमाल आज बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यता काठमाडौँ महानगरपालिका–३ हल्चोक बस्ने सुनसरी धरान नगरपालिका–१५ का ४५ वर्षीया निरमाया चेमजोङ नागार्जुनस्थित पाँचधारा पानी ट्याङ्की नजिक आज मृत भेटिएकी छिन् । घटनाको सम्बन्धमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।