You are here
Home > समाचार > गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिबारे केपी ओली र टरिजा मेबीच छलफल

गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिबारे केपी ओली र टरिजा मेबीच छलफल

२९ जेष्ठ २०७६, बुधबार १०:३९

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाएका छन्। ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्।

मङ्गलवार अपराह्न ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताएका थिए। उनले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरूका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए।

त्यसको उत्तरमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्। ब्रिटिश प्रधानमन्त्री टरिजा मेले गत सातामात्रै सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्।