You are here
Home > समाचार > पोखरामा गोली हानेर एक लागुऔषध कारोवारी नियन्त्रणमा

पोखरामा गोली हानेर एक लागुऔषध कारोवारी नियन्त्रणमा

२९ जेष्ठ २०७६, बुधबार १४:४९

काठमाडौं-कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको उत्तमचोकमा प्रहरीले एक लागुऔषध कारोबारीलाई एक राउन्ड गोली हानेर नियन्त्रणमा लिएको छ।

लागू औषधको कारोबार भइरहेको सुचना पाएर जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीसंग मुठभेडमा उत्रिएपछि लागूऔषध कारोबारीलाई खुट्टामा एक राउन्ड गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ गर्न खोज्दा हाम्रो अफिसर माथी आक्रमण गरेपछी आत्मरक्षाका लागि लागुऔषध कारोबारी जोन भन्ने गोविन्द थापालाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

गोली लागेर घाइते भएका थापा वैदेशिक रोजगारमा कतारमा रहदा लागुऔषध मुद्दामा ३ बर्ष जेल सजाय पाएको अनुसन्धानमा खुल्न आएको छ। लागुऔषध कारोबारी थापाको आक्रमणबाट कास्की प्रहरीको विशेष टोलीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सामान्य घाइते भएका छन्।