You are here
Home > समाचार > उपचाररत बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा नारावाजी

उपचाररत बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा नारावाजी

३० जेष्ठ २०७६, बिहीबार १५:५८

काठमाडौ-ओम अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि अस्पतालमा आफन्तले नाराबाजी गरेका छन्।

सिन्धुपाल्चोक इन्द्रावती–१० घर भएकी ५० वर्षीया रामप्यारी थापाको उपचारका क्रममा मृत्यु भएको हो। थापाको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि आइसियुमा रहेकी थापाको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो।

बिरामीको मृत्युपछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्। नाराबाजीका कारण अस्पतालले सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।

बिरामीका आफन्तले शल्यक्रियाका क्रममा अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्। ड्रिल गरेर शल्यक्रिया गर्ने क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यो नटालेका कारण शरीरमा संक्रमण फैलिएर बिरामीको मृत्यु भएको आफन्त खड्ग श्रेष्ठले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा केपी देवकोटाले उपचारका क्रममा कुनै लापरबाही नभएको बताए।
बिरामीका आफन्तले घटनाको विषयमा उचित छानबिन गर्दै दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन्।