You are here
Home > समाचार > विषय अभिव्यक्तिको, मुद्दा विद्युतीय कारोबारको

विषय अभिव्यक्तिको, मुद्दा विद्युतीय कारोबारको

३१ जेष्ठ २०७६, शुक्रबार ०६:५८

काठमाडौं- डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ ।

फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ । ‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हाँस्य कलाकार प्रनिश गौतमलाई सात दिनदेखि थुनामा राखेर विद्युतीय कारोबार ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाएको छ । प्रहरीको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएको छ ।

‘मेम नेपाल’ नामक युट्युब च्यानलमा सो फिल्मबारे गौतमले व्यंग्यात्मक भिडियो समीक्षा गरेका थिए । सो समीक्षाले आफूहरूको मानमर्दन भएको भन्दै निर्देशक मिलन चाम्लिङ राईले प्रहरीमा जाहेरी दिए । विस्तृत अनुसन्धान नै नगरी प्रहरीले गौतमलाई पक्राउ गरी मुद्दा चलाएको हो । जब कि उजुरी परेलगत्तै मेम नेपालले सो भिडियो हटाएको थियो ।

फिल्मबारे नकारात्मक समीक्षा गरेकै आधारमा पक्राउ गर्नुले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै हनन भएको अधिकारकर्मीले बताएका छन् । फ्रिडम फोरम, चलचित्र समीक्षक समाजलगायतले समेत गौतमको पक्राउप्रति आपत्ति जनाएका छन् । पक्राउको विरोधमा बुधबार राजधानीमा प्रदर्शन नै भएको थियो । सामाजिक सञ्जालमार्फत समेत उनलाई छुटाउन दबाब अभियान शुरु गरिएको छ ।

प्रहरी भन्छ–अदालतकै आदेशमा पक्राउ
अपराध महाशाखाका एसएसपी सहकुल थापा सबै प्रक्रिया पूरा गरेर अदालतकै आदेशमा गौतमलाई पक्राउ गरिएको बताउँछन् । ‘जाहेरी आएपछि हामीले दर्ता नै नगर्न मिल्दैन,’ उनले भने, ‘प्रहरीमा आएको जाहेरी र फिल्मबारे गरिएको समीक्षा हामीले अदालतमा देखायौं, यत्तिको घटनामा साइबर क्राइम मुद्दा चल्छ भनेपछि थुनामा राखेर अनुसन्धान अघि बढाएका हौँ ।’

१४ दिनसम्म आफूहरूले दुई पक्षलाई मिलाउने प्रयास गरेको उनी बताउँछन् । तर, जाहेरी दिनेले मुद्दा चलाउनैपर्ने बताएपछि अदालतको आदेशमा थुनामा राखिएको उनको भनाइ छ ।

मानहानी हो भने देवानी मुद्दा हुन्छ तर, हत्कडी किन लगाइन्छ ?
मानमर्दनसम्बन्धी विषयमा साइबर क्राइम जोडिँदैन । त्यस सम्बन्धमा गालीबेइज्जती ऐन आकर्षित हुन्छ । देवानी मुद्दा प्रहरीमा होइन, अदालतमा मात्र दर्ता हुन्छ । फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल भन्छन्, ‘सामाजिक सञ्जालमा कसैको मानमर्दन भएको हुन सक्छ, तर शुरुमा उसलाई सच्चिने मौका दिनुपर्छ, यदि त्यसो भएन भने अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा हाल्ने हो, साइबर क्राइम आकर्षित हुँदैन ।’

साइबर क्राइममा पक्राउ परेकामध्ये कतिपय अन्जानवश फोटो सेयर गरेकाहरू रहेको उनले बताए । पछि त्यस्तो गर्न नहुने थाहा पाएर डिलिट गर्दासमेत मुद्दा चलेको उनले बताए । हालै मात्र त्यसरी पक्राउ परेका सिन्धुपाल्चोकका प्रधानाध्यापक ईश्वर चापागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

साइबर कानुनसम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्याल गालीबेइज्जतीसम्बन्धी विषय साइबर क्राइम हुन नसक्ने बताउँछन् । यसलाई प्रस्ट रूपमा देवानी मुद्दामा नराखे सत्तामा रहेकाहरूले गलत प्रयोग गर्ने जोखिम रहेको उनी बताउँछन् । राम्रोसँग अध्ययन नगरी मुद्दा चलाएको अवस्थामा प्रहरीमाथि नै कारबाही हुने प्रावधान मुलुकी अपराध संहितामा छ । यस्तामा अनुसन्धान अधिकृतविरुद्ध नै मुद्दा चल्न सक्छ ।

आरोप पुष्टि नहुँदै सर्वसाधारणको फोटो सार्वजनिक गरेर प्रहरीबाटै मानमर्दन
एसएसपी सहकुल थापा, प्रमुख अपराध महाशाखा
प्रनिश गौतमलाई पक्राउ गर्दा अपराध महाशाखाले फोटोसहित विज्ञप्ति नै जारी गरेको थियो । जसमा भनिएको छ, ‘फिल्म निर्देशकको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको व्यापार–व्यवसायमा घाटा पुर्‍याउने, झुटो प्रचारप्रसार गरी गालीगलौज गर्ने, कलाकारको मानप्रतिष्ठामा आँच पुर्‍याउने, जबरजस्ती राम्रो छ भन्न लगाउने र चलचित्रको बदनाम समेत गरेको भनी’ जाहेरी परेकाले पक्राउ गरिएको उल्लेख छ ।

तर, ती कुनै पनि विषय साइबर क्राइम मुद्दासँग आकर्षित हुँदैनन् । गम्भीर मुद्दाका अपराधी पक्राउ परे जस्ते प्रहरीले गौतम पक्राउ पर्दा पनि विज्ञप्ति निकालेको थियो । आँखा छोपेको फोटो प्रहरीले फेसबुकबाट सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट प्रहरीले नै यसरी मानमर्दन गरेको भनेर आलोचना भएको छ ।

सर्वाेच्च अदालतले कुनै पनि अभियुक्त अदालतबाट दोषी ठहर नभएसम्म उनको फोटो सार्वजनिक नगर्न प्रहरीलाई आदेश दिएको थियो । त्यसयता प्रहरीले मास्क लगाएर फोटो खिच्न दिने गरेको छ । अपराध महाशाखाका एसएसपी थापा भने पत्रकारकै मागअनुसार फोटो सार्वजनिक हुने गरेको बताउँछन् । अनुहार नचिनिने गरी प्रहरीले अभियुक्तको फोटो सार्वजनिक गर्दै आएको उनको भनाइ छ ।

विद्युतीय कारोबार अर्थात् लेनदेनको मुद्दा
विद्युतीय कारोबार ऐन २०६३ विद्युतीय माध्यमबाट हुने डिजिटल कारोबारलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको हो । यसमा सामाजिक सञ्जालसम्बन्धी कुनै विषय उल्लेख छैन ।

विद्युतीय कारोबार ऐनको दफा ४७ मा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्न वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

यही दफाको गलत व्याख्या गरी प्रहरीले जथाभावी मुद्दा चलाउँदै आएको छ । सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा हुने आलोचनाका विषयमा यही दफा प्रयोग गरी मुद्दा चलाउने गरिएको छ । यही दफाको गलत व्याख्या गरी पत्रकारदेखि नेताहरूको आलोचना गर्नेहरूलाई समेत पक्राउ गरेर मुद्दा चलाउने गरिएको छ ।

जसको सर्वत्र विरोध हुँदै आएको छ । विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी मुद्दा चलाउने घटना बढ्नु गम्भीर विषय भएको फ्रिडम फोरमका अध्यक्ष दाहाल बताउँछन् । प्रतिशोध साँध्न विद्युतीय कारोबार ऐनको दुरुपयोग बढेको उनको भनाइ छ ।

‘विद्युतीय कारोबार ऐन भनेको बैंकिङ कारोबारलाई सुरक्षित बनाउन र कसैको कम्युटरलगायत डिजिटल डिभाइसमा अनधिकृत पहुँच रोक्न बनाइएको कानुन हो,’ दाहाल भन्छन्, ‘तर, कार्टुन बनाउने, फेसबुक, ट्विटरमा आलोचना गर्ने, अनलाइन न्युज कन्टेन्टमा चित्त नबुझेपछि यो मुद्दा चलाउन थालिएको छ । हुँदाहुँदा फिल्मको नकारात्मक समीक्षा गरेकोमा प्रोड्युसरले समेत दुरुपयोग गर्न थालेका छन् । यसलाई सच्याउनु पर्छ ।’

अधिवक्ता बाबुराम अर्याल अभिव्यक्तिको स्वतन्त्रतालाई अपराधसँग जोड्नु नै गलत भएको बताउँछन् । यस्ता विषयालाई देवानी कानुनअन्तर्गत राख्नुपर्ने उनको भनाइ छ । ‘हामीकहाँ कानुनका शब्दावली लामा हुन्छन्, त्यसको गलत व्याख्या हुने गरेको छ,’ उनी भन्छन्, ‘अर्कातर्फ कानुन कार्यान्वयन गर्ने निकायहरू उत्तरदायी हुनेभन्दा इगो र दबाबबाट चल्ने गर्दछन्, साइबर अपराधमा पनि यही कारण कानुनको दुरुपयोग बढेको छ ।’

विद्युतीय कारोबार ऐनमा टेकेर पाँच वर्षमा १२ पत्रकार पक्राउ
प्रहरीले गएको पाँच वर्षयता विद्युतीय कारोबार ऐन लगाएर १३ पत्रकारलाई पक्राउ गरेको छ । त्यसमध्ये अधिकांश समाचार लेखेकै कारण पक्राउ परेका छन् । बाँकी भने अन्य गतिविधिमा संलग्न भएका कारण पक्राउ परेका हुन् ।

प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार पक्राउ पर्नेमा पत्रकार दिनेश आचार्य, सुशील पन्त, अर्जुन थपलिया, भद्रगोल किराँती राई, एन्जिला सापकोटा, राजु बस्नेत, हरि मानन्धर, लेखनाथ अधिकारी, गोकर्ण भट्ट, कमला हमाल र सरोज निरौला, राजु अधिकारी, सोनुकुमार सुनार रहेका छन् । त्यसमध्ये आचार्य, पन्त, थपलिया, राई, सापकोटा, बस्नेत र मानन्धर अनलाइनमा समाचार लेखेकै कारण पक्राउ परेका हुन् । अधिकारी, भट्ट, हमाल, निरौला, सुनार र ढकाल इन्टरनेटमार्फत अन्य गतिविधि गरेका कारण पक्राउ परेका हुन् ।

घटना १ – निर्वाण चौधरीको वैवाहिक जीवनलाई लिएर पत्रकार दिनेश आचार्यले सेयर बजार साप्ताहिकमा समाचार बनाए । उक्त समाचारले आफ्नो चरित्रहत्या गरेको भन्दै निर्वाणले विद्युतीय कारोबार ऐन ०६३ को धारा ४७ मा टेकेर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरे । सोही उजुरीका आधारमा आचार्य पक्राउ परे ।

घटना २ – नेपाली हेडलाइन्स डटकमका तत्कालीन पत्रकार सुशील पन्तले डिल्लीबजारस्थित कन्या क्याम्पसको शौचालयमा यौनजन्य सामग्री भेटिएको दाबी गर्दै समाचार लेखे । क्याम्पस प्रशासनले मानहानि भएको दाबी गर्दै विद्युतीय कारोबार ऐन ०६३ को धारा ४७ मै टेकेर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गर्‍यो । प्रहरीले पन्तलाई पक्राउ गर्‍यो ।

घटना ३ – सिरहाबाट प्रकाशित अनुकल्प दैनिकका पत्रकार अर्जुन थपलियालाई पनि सोही ऐनअन्तर्गत पक्राउ गरियो । ७ मंसिर ०७३ मा पक्राउ परेका पत्रकारविरुद्ध प्रकाशित समाचार फेसबुकमा सेयर गरेको अभियोग लागेको थियो । नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष देवकुमार यादवविरुद्ध जथाभावी लेखेको आरोपमा उनी पक्राउ परे ।

घटना ४– राष्ट्रपति विद्यादेवी भण्डारीका लागि खरिद गर्न लागिएको सवारीसाधनको सम्बन्धलाई लिएर फेसबुकमा अमर्यादित शब्द लेख्ने कपिलवस्तुका पत्रकार सोनुकुमार सुनार पनि पक्राउ परे । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका उनलाई प्रहरीले तौलिहवाबाट पक्राउ गरेको थियो ।

घटना ५ – राष्ट्रपति विद्यादेवी भण्डारीमा प्रधानमन्त्री केपी ओलीको फोटो जोडेर अमर्यादित शब्द लेखी फेसबुकबाट पोस्ट गरेको अभियोगमा उदयपुरका पत्रकार सरोज निरौला पनि पक्राउ परे । उनलाई पनि विद्युतीय कारोबार ऐन लगाइएको थियो ।

घटना ६– प्रधानमन्त्री र राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा गत महिना सिन्धुपाल्चोकका प्रधानाध्यापक ईश्वरप्रसाद चौलागाईं पक्राउ परेका थिए । उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
घटना ७ – सरकारी कर्मचारीहरू समेत साइबर क्राइममा पक्राउ परेका छन । प्रधानमन्त्री केपी ओलीको फोटोसप गरिएको फोटो फेसबुकमा सेयर गरेको आरोपमा काभ्रेको रोसी गाउँपालिका– ५ का सचिव होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट